सोमबार, कात्तिक ३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’: सञ्चारमन्त्री गुरुङ

नेपाल दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’: सञ्चारमन्त्री गुरुङ

 |  बिहीबार, साउन २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल अब दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’का रूपमा स्थापित हुँदै गरेको बताएका छन्।

Kumaribank

आज जापान–नेपाल आइटी एसोसिएसन(जेएनआइटिए)द्वारा यहाँ आयोजित जापान–नेपाल आइटी फोरम, २०२५ मा उनले मन्त्री गुरुङले नेपाल प्राकृतिक हिसाबले पनि सूचना प्रविधिको हब बनाउन उपयुक्त स्थान भएकाले जापानसँग आइटी उद्योग सञ्चालन गर्न आह्वान गरे।

'जापानी नवप्रवर्तन, लगानी र प्रविधिमा नेतृत्वलाई नेपालले स्वागत गर्न तयार छ', मन्त्री गुरुङले भने, 'जापानी लगानीकर्ता, अनुसन्धानकर्ता र प्रविधि उद्यमीलाई नेपालको डिजिटल यात्रामा सहभागी हुन म आह्वान गर्दछु।'

उनले नेपाल सरकार नियामकीय स्पष्टता, नीतिगत समन्वय र पूर्ण संस्थागत सहयोग प्रदान गर्न तयार रहेकोसमेत उल्लेख गरे।

जापान र नेपालको प्राविधिक सहकार्यलाई नयाँ उचाइ दिने उद्देश्यले आयोजित जापान–नेपाल आइटी फोरमले दुई देशबीचको डिजिटल कूटनीतिलाई संस्थागत आधार प्रदान गर्नेमा विश्वास व्यक्त गर्दै उनले सम्मेलन ऐतिहासिक उपलब्धि भएको बताए।

Metro Mart

'नेपाल सरकारकोतर्फबाट म जापान सरकार, नेपालस्थित जापानी राजदूतावास, आयोजक संस्था टिएआइ, विभिन्न उद्योग साझेदार र सहभागी सबैप्रति हार्दिक आभार प्रकट गर्दछु', उनले भने, 'यस मञ्चले दुई देशका दूरदृष्टि भएका वैज्ञानिक, नीति निर्माता, प्राविधिक विज्ञ र उद्योग नेताहरूलाई एउटै छानामुनि ल्याउने अवसर दिएको छ।'

उनले सम्मेलनमार्फत नेपाल–जापान आइटी करिडोरको आधार निर्माण हुने अपेक्षा व्यक्त गरे। 'हामी यो साझेदारीलाई दीर्घकालीन रणनीतिक सम्बन्धको सुरुआतका रूपमा हेरिरहेका छौँ', उनले भने, 'जापानबाट नवप्रवर्तन, पूर्वाधार र लगानीमा सहकार्य, परामर्श र साझेदारीको अपेक्षा गरेका छौँ । नेपालले युवाशक्ति, रणनीतिक भौगोलिक अवस्था र स्वाभाविक सम्पदासहित दक्षिण एसियाको सम्भावित डिजिटल केन्द्र बन्ने सामथ्र्य राख्छ।'

मन्त्री गुरुङले नेपाल सरकार जापानी लगानीलाई आइटी हब, कम्प्युटिङ केन्द्र, बिपिओ र सफ्टवेयर आउटसोर्सिङ क्षेत्रमा स्वागत गर्न पूर्ण रुपमा प्रतिबद्ध रहेको उल्लेख गरे। 'हामी नीति, कर छुट, पूर्वाधार तथा एकद्वार प्रणालीमार्फत लगानी अनुकूल वातावरण बनाउन तयार छौँ', उनले भने।

नेपालले डिजिटल नेपाल फ्रेमवर्क २.० अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सुशासनजस्ता क्षेत्रलाई पूर्ण रुपमा डिजिटलाइज गर्न चाहेको उल्लेख गर्दै मन्त्री गुरुङले यसका लागि जापानसँग प्रविधि तथा लगानीमा साझेदारीको माग गरिएको बताए।

नेपालमा हरित ऊर्जामा आधारित डेटा सेन्टर स्थापना गर्न, ग्रामीण कनेक्टिभिटीका लागि आफ्नै स्याटेलाइट प्रक्षेपण गर्न जापान सरकारसँग सहकार्यको प्रस्ताव गरिएको उनको भनाइ थियो। साथै, साइबर सुरक्षा प्रणाली, फाइबर अप्टिक विस्तार, टेलिकम सुधार, फाइभजीलगायत क्षेत्रमा पनि उनले सहकार्यको खाँचो औंल्याए।

नेपाल सरकारले जापानसँग मिलेर एआई एक्सेलेन्स सेन्टर, डाटा सेन्टर स्थापना र एआई शिक्षादेखि अनुसन्धानसम्मका कार्यक्रम सञ्चालन गर्न चाहेको पनि मन्त्री गुरुङले उल्लेख गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा स्वर्णीम वाग्लेले जापानसँग प्राविधिक व्यवसाय गर्ने प्रशस्त आधार रहेको उल्लेख गर्दै ठूला कम्पनीबाट बृहत् व्यवसाय सुरु गर्नुपर्ने आवश्यकता औंल्याए। 'पछिल्लो समय आइटीमा युवाको भविष्य राम्रो देखिएको छ, यसका लागि विदेशी लगानीमात्रै होइन, लगानी बाहिर पनि सहजै लैजान सकिने सहज वातावरण सिर्जना गराउन सरकारले आवश्यक नीति ल्याउनुपर्छ', उनले भने।

कार्यक्रममा जापान–नेपाल आइटी एसोसिएन(जेएनआइटिए) का अध्यक्ष शरद राईले जापानमा आइटी व्यवसायका प्रशस्त सम्भावना भएको र त्यस अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए। त्यस अवसरमा जापानका सूचना प्रविधिका जानकार, व्यवसायी र नेपाली युवा आइटी उद्यमीबीच छलफलसमेत भएको थियो।

प्रकाशित: Aug 07, 2025| 20:46 बिहीबार, साउन २२, २०८२
प्रतिक्रिया दिनुहोस्