काठमाडौं- प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध भएको छ। निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको बैठक प्रतिपक्षी दलको अवरोधका कारण अघि बढ्न नसकेको हो।
अवरोध कायमै भएपछि सभामुख देवराज घिमिरेले बैठक शुक्रबार (भोलि) दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका प्रतिपक्षी दलहरूले संसद् बैठकमै नाराबाजी गर्दै आएका छन्।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा र एकीकृत समाजवादीका सांसदहरूले जेठ १५ गतेयता संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। सभामुख घिमिरेले राख्नुपर्ने विषयहरू दलीय आधारमा राख्नका लागि वातावरण बनाइदिन बारम्बार आग्रह गर्दा पनि सांसदहरूले अवरोध कायमै राखेपछि बैठक स्थगित भएको हो।
'राख्नुपर्ने विषय हामीले दलीय रूपमै राख्ने हो। सदन दुई हप्तादेखि अवरुद्ध छ। देशका समस्याहरूबारे छलफल गर्ने सर्वोच्च निकाय सदन हो। छलफलका लागि वातावरण बनाउनुपर्छ, त्यसका लागि आसन ग्रहण गरेर साथ दिनुस्। वातावरण नबनाइकन सभा सञ्चालन हुन सकिँदैन। सदनलाई प्राणहीन बनाउने काम नगरौँ,' उनले भने।
सभामुखको आग्रहका बाबजुद सांसदहरूले नाराबाजी जारी राखेपछि संसद् स्थगित भएको हो।
सदन खुलाउने विषयमा आज कांग्रेस, एमाले र माओवादीबीच दुई बुँदे सहमति भएको बताइएको थियो। तर, माओवादीका सांसदहरुले पनि सदनमा अवरोध जारी राखेका छन्।
कांग्रेस र एमालेसँग सहमति गरेपछि प्रचण्डले रास्वपाका नेताहरुसँग छलफल गरेका थिए। तीन दलबीच भएको सहमति मान्ने-नमान्ने निर्णय रास्वपाले भोलिसम्ममा गर्ने बताएको छ।
साँझ संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, 'भोलि चाहिँ यो टुंगिन्छ। रास्वपाका साथीहरूले समय माग्नुभयो।’