नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आबद्ध पार्टीहरुसँग एकताबारे छलफल भइरहेको बताएका छन्।
मंगलबार अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी माओवादी प्रवेश गरेका नेताकार्यकर्तालाई खुमलटारमा स्वागत गर्ने क्रममा उनले एकताबारे छलफल भइरहेको दाबी गरेका हुन्।
उनले भने, ‘विप्लवले नेतृत्व गरेको नेकपा , माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीसँग पनि मोर्चा त बनेकै छ। पार्टी एकताबारे पनि एकता चलिराखेको छ । महिन्द्र राय नेतृत्वको नेसपा छिट्टै एकतामा आउँदै छ । छिट्टै केन्द्रीय समिति बैठक बस्दै छ । नयाँ योजनाका साथ एकतामा आएका नेताहरूलाई पार्टीभित्र विभिन्न ठाउँको जिम्मेवारी दिइने छ।’
उनले माओवादीप्रति २०६४ सालको जस्तै फेरि जनआकर्षण बढेकाले २०८४ मा एक नम्बरको पार्टी बन्ने जिकिर गरे।