नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा समर्थकले प्रदर्शन गर्नु अर्थहिन रहेको बताएका छन्।
बिहीबार जनकपुरधाम विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले राजावादीको आन्दोलन पतन भइसकेकाले प्रदर्शन गर्नु अर्थहिन रहेको टिप्पणी गरेका हुन्।
पूर्वराजा समर्थकले आन्दोलन गर्नु गणतन्त्र विरोधी गतिविधि भएकाले जनताको त्याग र संघर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने उनले उल्लेख गरे। सभापति देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको भन्दै संसद् अवरोध नगर्न प्रतिपक्षी दललाई आग्रह गरे।
सभापति देउवा कांग्रेसका स्व. नेता ठाकुरप्रसाद ढुंगानाको ६२औं स्मृतिसभा, शालिक अनावरण र उनका बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रमका लागि जनकपुर आएका हुन्। देउवा धनुषामा भोलिसम्म हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यसूची रहेको छ।