बुधबार, जेठ २१, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 |  सोमबार, जेठ १९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०८२

vianetvianet

काठमाडौं- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप छ। 

सोडारीले सार्वजनिक पदधारण गरेको मिति २०७४ माघ ७ गतेदेखि २०७९ वैशाख १० सम्मको अवधिमा ८५ लाख ५१ हजार ३३४ रूपैयाँ आय आर्जन गरेको अनुसन्धानबाट पाइएको अख्तियारले जनाएको छ। उनी मुख्यमन्त्री हुनुअघि सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए। 

बैंक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता बचत, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता आय, श्रीमतीको पारिश्रमिक बचत, छोराको पारिश्रमिक र दैनिक भ्रमण भत्ता बचत, बुहारीको पारिश्रमिक बचत, कृषि आय, बुबा र आमाले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बचत र बैंक ब्याज आयसमेत गरी उनको आय ८५ लाख ५१ हजार मात्र पाइएको हो।

जाँच अवधिमा उनले १ करोड ९३ लाख ८९ हजार ६३७ रूपैयाँ लगानी तथा खर्च गरेको पाइएको आयोगको भनाइ छ। जग्गा खरिद, घर निर्माण एवं सोही घरमा आन्तरिक सजावट खर्च, छोरीको अध्ययन खर्च, उनको श्रीमती सञ्चालक रहेको बबि मसला उद्योगमा भएको लगानी, बीमा प्रिमियम भुक्तानी, प्रदेश सभा निर्वाचनमा भएको खर्च, छोराको विवाह खर्च, सेयर लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको नगद मौज्दातसमेत गरी उक्त खर्च गरिएको पाइएको हो।

National life insurance

कुल आयभन्दा व्यय अधिक हुन गई सोही बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको हुँदा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो। उनले अख्तियारसमक्ष पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेको पुष्टि भएको आयोगको भनाइ छ।

उनी अहिले सांसद रहेको हुनाले थप सजाय मागदाबी गरिएको छ। उनी नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् । 

अख्तियारले उनकी श्रीमती गीता सोडारी तथा छोरा बबि सोडारीलाई समेत प्रतिवादी कायम गरेको छ । उनीहरूको  नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दातको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित: Jun 02, 2025| 17:03 सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्