काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा एमालेले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते भृकुटीमण्डपमा गणतन्त्र उत्सव गर्ने भएको छ। पार्टी सचिवालय बैठकको निर्णय अनुसार जनवर्गीय तथा भ्रातृ संगठनहरुले कार्यक्रम आयोजना गरेका हुन्।
पार्टी अध्यक्ष केपी ओलीले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनको विपक्षमा तयारी रहन नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले भनेका छन्, ‘१५ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ।’ ओलीको निर्देशनमा एमालेले सो दिन भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको छ। एमालेको प्रदर्शन बिहान ११ बजे हुने कार्यक्रम छ । 'जेठ १५ गते ११ बजे भृकुटीमण्डप जाऔं ! गणतन्त्र स्थापनाको उत्सबमा सहभागी बनौं !! प्रतिगामी-पुनरुत्थानवादीका हरकतलाई खारेज गरौं !!! एमाले नेता विष्णु रिजालले भनेका छन्।
सोही दिन राजावादी पक्षले काठमाडौंमै आन्दोलन थाल्ने भएका छन्। संयुक्त जनआन्दोलन समितिले आफ्नो कार्यक्रम रत्नपार्क केन्द्रित गर्ने तयारी गरेको छ । राजतन्त्र पक्षधरहरुको प्रदर्शन १२ बजे रत्नपार्कबाट सुरु हुने कार्यक्रम छ। नेताहरुले १५ गते दिउँसो १२ बजे रत्नपार्क आउन आह्वान गरेका छन्। भृकुटीमण्डप र रत्नपार्कबीचको दूरी निकै कम छ।
आन्दोलनमा सहभागिता जुटाउन राजावादी दलका नेताहरु अहिले घरदैलोमा छन्। मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरु पर्चा बोकेर निम्तो बाँड्दै भक्तपुर पुगे। उनीहरुले तीन दिनसम्म चोकचोक र घरघरमा पुगेर पर्चा बाँडे। आन्दोलनमा सहभागी हुन देशैभरबाट राजावादी काठमाडौं आउने नेताहरुको दाबी छ।
आन्दोलन शान्तिपूर्ण र संयमित हुने उनीहरुले बताएका छन्। राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति अभियानद्वारा मंगलबार आयोजित पत्रकार भेटघाटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन भद्र अवज्ञा प्रकृतिको हुने भएकाले आग्रह प्रर्वाग्रह नराखी स्वतन्त्र अनुगमनका लागि सञ्चार जगतसँग आग्रह गरे। उनले भने, 'तीन पार्टीको घोषित उपत्यकाव्यापी आन्दोलन संविधान विरोधी नभई संविधानले दिएको सुविधाभित्रै रहेर शान्तिपूर्ण ढङ्गबाट हुनेछ।'
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले अवलम्बन गरेका ‘एजेन्डा’ स्थापित गर्ने क्रममा हुन गइरहेको आन्दोलन शान्तिपूर्ण हुने बताए। उनले भने, 'शान्तिपूर्ण आन्दोलनमा जनताको सहभागिताले राप्रपाको एजेन्डा स्थापित गर्न अन्य राजनीतिक दल र सरकारसँग वार्ताको वातावरण बनाउने छ।'
राष्ट्रिय शक्ति अभियानका संयोजक केशरबहादुर विष्टले देशमा राजनीतिक स्थिरता र शान्ति सुव्यवस्थालाई सहज तुल्याउन आफूहरुले लामो समयदेखि उठाउँदै आएको मागलाई जनदबाब सिर्जना गरी सम्बोधन गर्न आह्वान गरिएको आन्दोलनलाई सहयोग पुर्याउन सबैसँग अनुरोध गरे।
आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले यही जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण, अंहिसात्मक र सत्याग्रहमा आधारित हुने विश्वास दिलाए। उनले आन्दोलनलाई शान्तिपूर्ण तुल्याउन करिब दुई हजारको सङ्ख्यामा स्वयंसेवक परिचालन गरिने जानकारी दिए।
प्रधामन्त्री ओलीको अभिव्यक्तिले भने जेठ १५ मा काठमाडौंको राजनीतिक तापक्रम बढ्ने देखिएको छ।
राजावादीले गर्न लागेको प्रदर्शनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक डाकेका छन्। मंगलबार साँझ गृह मन्त्रालयमा चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाइएको थियो।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख सहभागी थिए। सोमबारमात्रै प्रधानमन्त्री केपी ओलीले समेत यही विषयमा छलफल गर्न सिंहदरबारमा चारवटै सुरक्षा निकायलाई बोलाएका थिए।
गत चैत १५ मा तीनकुनेमा राजावादीले गरेको अराजक प्रदर्शनमा सुरक्षा निकायको कमजोरी भन्दै आलोचना भएको थियो। आन्दोलनले उग्र रूप लिँदा दुई जनाको मुत्यु भएको थियो। त्यसपछि सरकारले आन्दोलनका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरेको थियो । त्यस दिनको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं, राप्रपाका नेताहरु धवलशमशेर राणा र रवीन्द्र मिश्र पक्राउ परे। मिश्र र राणा छुटिसकेका छन् भने प्रसाईं हिरासतमै छन् ।
यसैबीचमा राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ । आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टीलक्षित नकारात्मक टीका टिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन तथा आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिँदा संयमित हुन आग्रह गरिएको छ । आयोगले देशको शान्तिसुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासनविपरित हुनुका साथै निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाइ रहेको उल्लेख गरेको छ ।
जेठ १५ गतेबाट राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा जनआन्दोलन गर्न लागेको र त्यसको अनुगमन गरिदिन अनुरोध गर्दै आयोगमा जानकारी पत्र प्राप्त भएको आयोगले जनाएको छ।