काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले मानव तस्करी र भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका हुन्। उनले भिजिट भिसा प्रकरणमा म्यानपावरदेखि एयरलाइन्ससम्म र कर्मचारीदेखि गृहमन्त्रीको सचिवालयसमेत जोडिएको दाबी गरे।
उनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिन सुरु नभएसम्म संसद् चल्न नदिने चेतावनी दिए।
गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपासहित प्रतिपक्षी दलहरूले नाराबाजी गरेपछि मंगलबारको प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ।