मंगलबार, जेठ २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संगठनको सम्मानपूर्ण भविष्यका लागि युवा संघको नेतृत्वमा अघि सरेका सुमन

संगठनको सम्मानपूर्ण भविष्यका लागि युवा संघको नेतृत्वमा अघि सरेका सुमन

 |  सोमबार, जेठ १२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०८२

vianetvianet

काठमाडौं- नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघमा दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी प्यानल नै बनाएर नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

नेतृत्व, पदाधिकारी र सदस्यमा समेत गरी १९९ जनाको उम्मेदवारी परेको छ। पदाधिकारी ९ जनासहित १ सय ५१ जना केन्द्रीय समिति, ४ वटा विभाग अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा ३९९ जनाको उम्मेदवारी परेको हो।

अध्यक्षमा क्षितिज र सुमनको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा भने तीन जनाको दाबेदारी रहेको छ।

सुमन समूहबाट उपाध्यक्षमा प्रकाश गौतम र राजन थापाले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका छन् भने क्षितिज समूहबाट उपाध्यक्षमा महाराज गुरुङ छन्।

महासचिवमा भने सुमनको प्यानलबाट कुबेर अधिकारीको उम्मेदवारी परेको छ भने क्षितिजको प्यानलबाट महेश चौलागाईं रहेका छन्। उपमहासचिवमा सुमन प्यानलबाट खेम शर्माले उम्मेदवारी दिएका छन् । क्षितिज प्यानलबाट उपेन्द्र शाही उम्मेदवार छन् ।

National life insurance

पार्टी अध्यक्ष केपी ओलीले क्षितिजलाई नै दोहोर्‍याउन दबाब दिएपछि युवा संघ नेतृत्व सर्वसम्मत हुन नसकेको हो । अध्यक्षका अर्का आकांक्षी सुमनलाई भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको छ। 

युवा संघमा ४० वर्षको उमेर हद तोकिएको छ । यो उमेर हदका कारण दुवै उम्मेदवारले पूरा कार्यकाल काम गर्न पाउँदैनन् । अझ थेबेलाई त ८ महिनामै ४० वर्षे उमेर हद लागू हुन्छ । समुनको भने अझै दुई वर्ष बाँकी छ । यसकारण पनि सुमन उपयुक्त उम्मेदवार रहेको तर्क उनी पक्षका नेताहरुको छ ।

मतदान हुने पक्का भएसँगै प्रतिनिधिहरू उत्साही भएका छन्। उनीहरु आ-आफ्नो उम्मेदवारको पक्षमा माहोल बनाइरहेका छन् । उम्मेदवारी मनोनयनको समयमा पनि अध्यक्षका दुवै उम्मेदवारले शक्ति प्रदर्शन गरेका थिए।

दुवै दाबेदारले आफ्ना कार्ययोजना बताउँदै मत मागिरहेका छन्। सुमनले प्रगतिशील सोच, प्रतिबद्धता र परिवर्तनको आशा बोकेका प्रतिनिधिले आफूलाई मत दिने अपेक्षा रहेको बताएका छन्। 'मेरो उम्मेदवारी केवल पदका लागि होइन— संगठनलाई ऊर्जा, उद्देश्य र सम्मानपूर्ण भविष्य दिन जीवन समर्पण गर्ने दृढ संकल्प हो। अब नेतृत्व योग्यता, मूल्य र संघर्षका आधारमा चयन हुनुपर्ने समय आएको छ। संगठन निर्माणमा जीवन अर्पण गरेका सहकर्मीहरूलाई अग्रपंक्तिमा ल्याउनु आजको आवश्यकता हो,' उनले भनेका छन्।

महासचिवको रूपमा सहकर्मी अध्यक्षलाई सफल बनाउन आफूले सधैं अर्जुनको भूमिका निभाउँदै आएको स्मरण गर्दै उनले नेतृत्व हस्तान्तरणका लागि आवाज उठाउन र परिवर्तनको पक्षमा मतदान गर्न प्रतिनिधिहरुलाई अपिल गरेका छन्। संगठनमा सद्भाव र एकताको नयाँ अध्याय सुरु गर्ने उद्घोष उनको छ। 'युवाहरूमा भविष्यप्रतिको आत्मविश्वास जगाउनेछु र संगठनलाई नयाँ उचाइमा पुर्‍याउनेछु। विचार, मूल्य र कार्यदिशामा स्पष्टता र पारदर्शिता ल्याई, संगठनलाई गतिशील, प्रेरणादायी र अग्रगामी शक्तिका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,' उनले भनेका छन्। 

पुरी दुई पटक उपाध्यक्ष भइसकेका छन् । हाल उनी युवा संघको महासचिव छन् । उपाध्यक्ष हुँदै अघिल्लो पटक महासचिवमा चित्त बुझाएका सुमनलाई ल्याउँदा नेतृत्व विकास हुन्छ भन्ने भण्डारी पक्षका नेताहरुको तर्क छ । 'उमेरको हद भएको संगठनमा पनि २/३ पटक प्रमुख पद अध्यक्ष दोहोर्‍याउने कुरा ठिक होइन। यो कब्जाको मानसिकता हो,' युवा संघका नेता सुविन न्यौपाने भन्छन्।

पछिल्लो समय बढिरहेको पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता र एमालेभित्रको उनको बलियो प्रभावका कारण क्षितिजमाथि सुमन भारी पर्ने आँकलन गरिएको छ। भण्डारी पार्टीमा फर्किन सक्ने र नेतृत्वमै आउन सक्ने चर्चा चलिरहँदा भ्रातृ संगठनमा आफू अनुकूलको व्यक्तिलाई ल्याउन खोजेको तर्क पनि कतिपयले गरेका छन्। उपाध्यक्ष भइसकेको र महासचिव समेत सम्हालिसकेका कारण सुमन स्वाभाविक दाबेदार पनि हुन्। 

थेबेले भने युवा पंक्तिको चाहनाका कारण आफू दोहोरिन चाहेको बताएका छन्। देश र राजनीति जोगाउन युवा संघमा सक्षम नेतृत्व चाहिएको उनको तर्क छ।

पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्वअध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, नेता विनोद ढकाल लगायतको समर्थन छ। स्वच्छ प्रतिस्पर्धा गर्न आफू मैदानमा उत्रिएको पुरीले बताएका छन् । पार्टी अध्यक्षले ओलीले पनि सकेसम्म सर्वसम्मत गर्नुस् नत्र स्वच्छ प्रतिस्पर्धा गर्नुस् भनेको उनले बताए । 'मुगुको साथीसँग झापाको साथीले भोट माग्ने अवसर अरू बेला कहाँ पाइन्छ ? यसले त हार्दिकता बढाएको छ, संगठनलाई चलायमान बनाएको छ । यो राम्रो पक्ष हो,' उनले भने । 

आफू दुई कार्यकाल उपाध्यक्ष भएर महासचिवमा झरेको र अध्यक्षलाई सक्दो सहयोग गरेको बताउँदै उनले अध्यक्षले पनि आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरे।

महाधिवेशनका लागि देशभरबाट १ हजार ७ सय ६४ प्रतिनिधि पोखरा पुगेका छन् । 

प्रकाशित: May 26, 2025| 07:44 सोमबार, जेठ १२, २०८२
प्रतिक्रिया दिनुहोस्