लमजुङ- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहार भएको छ। खुकुरी प्रहारबाट चारजना घाइते भएका छन्। लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो।
घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए।
घाइतेमध्ये खुसीजंग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ। प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरूमाथि खुकुरी प्रहार भएको हो। दुई समूहबीच झडप हुँदा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ। पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्नेलगायत विषयमा उनीहरूबीच विवाद भएको बताइएको छ। रासस