शनिबार, पुस १२, २०८२

ढुंगाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै ७३ वर्षीय विष्ट

 |  आइतबार, वैशाख २८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०८२

कञ्चनपुर- काम गर्न उमेरले छेक्दो रहेन छ। काम गर्ने दृढ इच्छाशक्ति भए जस्तोसुकै काम गर्न सकिँदो रहेछ भन्ने उदाहरण शुक्लाफाँटा नगरपालिका-८ नौखरीका ७३ वर्षीय रामसिंह विष्टले सिद्ध गरेका छन्। उनले चुरे क्षेत्रका खोलाबाट ढुंगा संकलन गरी मूर्ति निर्माण गर्दै आएका छन्।

National life

ढुंगाबाट बनाइएका मूर्ति बिक्री गरेर उनको घरखर्च चल्छ। अन्य व्यक्तिले ढुंगाबाट बनाइएका मूर्ति हेर्दाहेर्दै आफूले पनि बनाउन सिकेको विष्टले बताए। विष्टले ढुंगाबाट बाघ, भगवती, गाई, शिव, गणेश, शिवलिंग, नन्दीलगायतका मूर्ति बनाउँदै आएका छन्। एक दशकको अवधिमा १ सय ५० बढी मूर्ति निर्माण गरिसकेको उनले सुनाए। एक मूर्ति निर्माण गर्न १ देखि ३ महिनासम्म लाग्छ।

उनले मूर्ति बनाएबापत प्रतिमूर्ति ३० देखि ५० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन्। ‘मूर्ति बनाउने माग आए आफैँ गोरुगाडा लगेर चुरे फेदीका खोलामा पुग्छु’ विष्ट भन्छन्, ‘मूर्ति बन्न सक्ने ढुंगा खोजेर घरमा ल्याउने गर्छु, त्यसपछि फलामको औजारले खोपेर मूर्ति तयार गर्छु।’ मूर्ति बनाएबापत आउने रकमले घरपरिवारको खर्चसँगै लुगाफाटो, अन्न खरिद गरिँदै आएको उाको भनाइ छ।

तन्नेरीहरूको जस्तै विष्ट बिहानीदेखि साँझसम्म मूर्ति बनाउनमा खटिएका हुन्छन्। २/३ महिनामा मूर्ति बनाउने माग आउने गरेकाले घर खर्चमै पारिश्रमिकबापत पाइने रकम सिद्धिने गरेको उनले बताए।  ‘तराईमा भन्दा पहाडी क्षेत्रका मन्दिरमा सजाउनका लागि मूर्तिको बढी माग आउँछ’ उनले भने, ‘काम नगरे भोकै बस्नुपर्छ, त्यहीँ भएर सीप सिक्दा जीविका चलाउन सहज भएको छ।’ रासस 

प्रकाशित: May 11, 2025| 17:01 आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्