भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंग इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा मृत भेटिएकी छन्।
बिहीबार बेलुकी करिब ८ बजे नेपाली विद्यार्थी प्रिशा साह विश्वविद्यालयकै छात्रावासको कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्। बिहीबार बेलुकी ७ बजेतिर हाजिर गर्ने समयमा प्रिशा अनुपस्थित रहेपछि उनको खोजी भएको थियो।
खोज्दै जाँदा उनी आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतस्थित नेपाली दूतावासको सहयोगमा प्रिशाका परिवारलाई बोलाइएको त्यहाँको प्रहरीले बताएको छ।
प्रिशा बिटेक पहिलो वर्षमा अध्ययनरत थिइन्। यसअघि गत फागुनमा यही विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी थिइन्।