शुक्रबार, पुस ११, २०८२

सकियो दोस्रो सिकारयाम : ११ नाउर र सात झारलको सिकार

 |  शुक्रबार, वैशाख १९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०८२

बागलुङ- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सकिएको छ। दोस्रो याममा ११ नाउर र सात झारल मात्र सिकार भएको छ। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको थियो।

National life

सिकार खेल्नका लागि हिमालयन वाइल्डलाइफ आउटफिटर्स प्रालि, ट्र्याक्स एन्ड ट्रेल्स प्रालि, हिमालयन सफारीज प्रालि, ग्लोबल सफारीज नेपाल, नेपाल ट्राभल एक्सपेडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारीज गरी छवटा कम्पनीले अनुमति पाएका थिए। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको फागुने, सुनदह, घुस्तुङ, दोगाडी लगायत ब्लकमा पुगेका थिए।

ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार, चैत २६ गतेदेखि सिकारी ढोरपाटन आएका थिए। सिकारीले सुनदह ब्लकमा दुई नाउर र दुई झारल, घुस्तुङ ब्लकमा तीन नाउर र तीन झारल, दोगाडी ब्लकमा चार नाउर र एक झारल, फागुने ब्लकमा एक नाउर र एक झारल र बार्सेमा एक नाउरको सिकार गरेका थिए। १२ बँदेलको सिकार अनुमति दिइए पनि एउटा पनि सिकार भएन।

दोस्रो याम (फागुन–वैशाख) का लागि वैशाख १६ गतेसम्म सिकारीले सिकार खेलेका थिए। सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिटर्स काठमाडौँले सिकारीमार्फत दुई नाउर, दुई झारल र दुई बँदेल सिकार गर्न अनुमति पाएको थियो। यो कम्पनीले एउटा नाउर र एउटा झारल मात्र सिकार गरेको छ। ट्र्याक्स एन्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी सिकारीले दुई नाउर र दुई झारल सिकार गर्ने अनुमति पाएका थिए, र सबै वन्यजन्तुको सिकार गरेको उनले बताए।

त्यसैगरी हिमालयन सफारीज प्रालि काठमाडौँमार्फत तीन सिकारीले तीन नाउर, एक झारलका लागि अनुमति पाएका थिए, जसमा तीन नाउर र एक झारल सिकार गरेका छन्। ग्लोबल सफारीज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका थिए। तीमध्ये दुई नाउर र एक झारलको सिकार गरेका छन्। नेपाल ट्राभल एक्सपेडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल सिकार गर्ने अनुमति पाएका थिए, तर दुई नाउर मात्र सिकार गरिएको सुवेदीले जानकारी दिए।

Laxmi sunrise bank
kumari

ओपन नेपाल वाइल्डलाइफ सफारीज एन्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएका थिए। तीमध्ये एक नाउर र दुई झारलको सिकार गरेका उनले बताए। दोस्रो सिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट सिकारी आएका थिए। ढोरपाटनमा हरेक वर्ष (असोज–मङ्सिर) पहिलो र (फागुन–वैशाख) दोस्रो याममा सिकार हुने गर्छ।

प्रकाशित: May 02, 2025| 10:22 शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया दिनुहोस्