शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मध्यपहाडी लोकमार्गको विकल्पमा पाखुट्टे-निसी सडक स्तरोन्नति गरिँदै

मध्यपहाडी लोकमार्गको विकल्पमा पाखुट्टे-निसी सडक स्तरोन्नति गरिँदै

 |  बुधबार, वैशाख १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०८२

बागलुङ- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको विकल्पका रुपमा रहेको पाखुट्टे-झिम्पा-निसी सडक स्तरोन्नति गर्न थालिको छ।

National life

विसं २०७३ मा ट्रयाक खुलेको उक्त सडकको स्तरोन्नति गर्न थालिएको हो। ढोरपाटन नगरपालिका-२ पाखुट्टेदेखि निसीखोला गाउँपालिका-५ निसीसम्म २५ किलोमिटर रहेको उक्त सडकको दुई खण्डमा स्तरोन्नति गर्न थालिएको छ।

पहिलो खण्ड झिम्पाखोलादेखि ढाँडसम्मको पाँच किलोमिटर एम/एस टीएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन र दोस्रो खण्ड पाखुट्टदेखि माँडेसम्मको दुई किलोमिटर बागलुङ कालीगण्डकी निर्माण सेवाले जिम्मा लिएर काम गरिरहेका छन्।

पहिलो खण्ड निसीखोला गाउँपालिकाले चालु् आर्थिक वर्षमा विनियोजन गरेको ९८ लाख ४७ हजार रूपैयाँ र दोस्रो खण्ड संघीय सरकारले विनियोजन गरेको ५९ लाख ७३ हजार १ सय ७६ रूपैयाँ लागतमा स्तरोन्नति हुन थालेको हो।

पहिलो खण्ड गत चैत २२ गते सम्झौता गरी काम सुरु भएको थियो भने दोस्रो खण्ड २०८१ पुस २ गते सडक डिभिजन कार्यालय बागलुङमार्फत सम्झौता भएको थियो। यस खण्डमा सडक चौडा गर्ने, पर्खाल लगाउने र नाली निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए। जेठ मसान्तसम्म सक्ने उक्त खण्डको काम अहिलेसम्म ९० प्रतिशत सम्पन्न भएको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

पहिलो खण्डमा हालसम्म ३० प्रतिशत काम भएको एम/एस टिएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक इन्जिनियर रमेश अर्यालले जानकारी दिए। यस खण्डको विभिन्न ठाउँमा ह्युम पाइप हाल्ने, नाली निर्माण गर्ने र सडक फराकिलो बनाउने कार्य भइरहेको उनको भनाइ छ। आगामी असार १० गतेसम्म सक्ने गरी काम भइरहेको अर्यालले बताए।

पाखुट्टे-झिम्पा-निसी सडकका लागि गाउँपालिकाले अहिलेसम्म चार करोड रूपैयाँभन्दा बढी रकम खर्च गरिसकेको छ। यस सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि विभिन्न अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको थियो। उक्त सडक नौ वर्ष अगाडि साविक निसी, बोहोरागाउँ र देवीस्थान गाविसले दुई-दुई लाख रूपैयाँ, अर्थ मन्त्रालयबाट ४० लाख रूपैयाँ, डोलीडार संस्थाबाट सात लाख रूपैयाँ, जिल्ला विकास समितिबाट आठ लाख रूपैयाँ संकलन गरी कुल ६१ लाख रूपैयाँमा ट्रयाक खोलिएको थियो।

निसीखोलाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले अघिल्लो आर्थिक वर्षहरुमा वैकल्पिक सडक स्तरोन्नति गर्नका लागि करोडौँ रकम खर्च गरिसकेको बताए। सडक स्तरोन्नति नहुँदा स्थानीय लामो समयदेखि हिलो र धुलोबाट आजित हुने परेको भन्दै अब उक्त समस्याबाट मुक्त हुने उनको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत पुनले भने, 'यो सडक खुलेको एक दशक हुन थाल्यो, स्रोत अभावका कारण एकैपटक सबै सडक स्तरोन्नति गर्न सकिँदैन, त्यसले गर्दा हरेक वर्ष थोरै थोरै बजेट विनियोजन गरेर काम हुँदै आएको छ, सबै खण्ड एकैपटक स्तरोन्नति गर्न नसकिँदा सडक छेउका नागरिकले हिलो र धुलोबाट समस्या भोग्नुपरेको छ, विस्तारै यो समस्या समाधान हुनेछ।' रासस

प्रकाशित: Apr 30, 2025| 16:31 बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्