शुक्रबार, असार ५, २०८३

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

 |  बुधबार, वैशाख १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०८२

सर्लाही- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्यांकअनुसार सर्लाहीमा वार्षिक ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ। जुन सम्भावनाको हिसाबले निकै कम हो। कार्यालयले गरेको अध्ययनअनुसार जिल्लामा ६ सय ९१ हेक्टरमा चैते धानखेती गर्न सकिने सम्भावना छ।

National life

पाँच वर्ष परियोजनाअन्तर्गत किसानका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन हुँदासमेत खेती बढ्न नसकेको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत रामबलमप्रसाद साहले जानकारी दिए।

अधिकांश समथर भूभाग रहेको जिल्ला कृषि उत्पादनको हिसाबले उपयुक्त ठाउँ मानिन्छ। धान, मकै, गहुँ, कोदो, जौ यहाँ उत्पादन हुने प्रमुख अन्नबाली हुन्। क्षेत्रफलको हिसाबले हेर्ने हो भने बर्खे धानखेती ४५ हजार नौ सय ५० हेक्टरमा हुँदै आएको छ भने प्रत्येक वर्ष एक लाख ६७ हजार दुई सय ५८ मेट्रिकटन  धान उत्पादन हुँदै आएको छ। 

यद्यपि किसानहरू चैते धानखेतीमा भने आकर्षित हुन नसकेको परियोजना प्रमुख साहले बताए। चैते धानखेती बढाउने उद्देश्यसहित परियोजनाले हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका केही वडालाई धान जोन क्षेत्र घोषणा गरेको थियो।

विसं २०७३ मा परियोजना सुरु हुनुअघि किसानलाई तालिम कृषि उपकरण, सिँचाइ उपकरणलगायतको सामग्री अनुदानमा उपलब्ध गराइएको थियो। कमान्ड क्षेत्रमा समेत खेती विस्तार हुन नसक्दा यहाँ चैते धानखेती नगन्य मात्रामा भइरहेको हो।

Shivam cement

कृषि ज्ञान केन्द्रका अनुसार हाल जिल्लाको ईश्वरपुर, लालबन्दी, बरहथवा, हरिपुर्वा, गोडैता र कबिलासी नगरपालिकामा गरी जम्मा ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती भइहेको छ। सबैभन्दा धेरै ईश्वरपुरमा २० र लालबन्दी र बरहथवा क्षेत्रमा १०/१० हेक्टर क्षेत्रमा चैते धानखेती हुँदै आएको छ। बाँकी पालिकाहरूमा ५, ३, २, हेक्टरमा खेती हुने गरेको तथ्यांक छ।

मुख्य चुनौती सिँचाइ 
चैते धानखेतीका लागि मुख्य समस्या सिँचाइ हुने गरको छ। सिँचाइ अभावकै कारण यहाँ चैते धानखेती बढ्न नसकेको स्थानीय किसानहरूले बताएका छन्।

किसानले चैते धानको लागि याममा १३ पटकसम्म पानी पटाउनुपर्ने भएकाले समस्या भएको बताएका छन्। सिँचाइ पर्याप्त नहुँदा खेती गर्न समस्या भएको कबिलासी नगरपालिकास्थित सिर्सियाका किसान रामआधार रायको भनाइ छ। 'यो खडेरी पर्ने समय हो, खेतमा प्रत्येक तीनदेखि पाँच दिनमा पानी हाल्नुपर्छ, सिँचाइ सुविधा नहुँदा समस्या भएको हो', उनले भने।

जिल्लाका अधिकांश किसानहरूले सुरुमा पम्पसेट र विद्युतीय मोटरको प्रयोग गरी सिँचाइ गरे पनि अहिले समस्या भइरहेको छ। उत्पादनका हिसाबले हेर्दा वर्खे धानको तुलनामा चैते धान धेरै फल्छ। बर्खे धान प्रतिहेक्टर ३.६४ मेट्रिकटन फल्छ भने चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.६६ मेट्रिकटन रहेको छ। यसबाट पनि किसानले लाभ लिन सक्ने देखिए पनि सिँचाइको अभावले लाभ लिन नसकिएको उनीहरुको भनाइ छ।   -रासस

प्रकाशित: Apr 30, 2025| 16:01 बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्