आइतबार, मंसिर २८, २०८२

मनाङमा यार्सागुम्बा संकलन थालियो

 |  मंगलबार, वैशाख १६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०८२

मनाङ- मनाङमा यार्सागुम्बा संकलन थालिएको छ। मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा संकलन गर्न यहाँ आएका छन्।

National life

संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका २०८० र अन्य प्रचलित कानूनबमोजिम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयबाट यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन गर्न अनुमति लिन थालेका छन्।

अनुमति प्राप्त भएपछि मात्र संरक्षण व्यवस्थापन समितिले संकलनकर्तालाई आफ्नो क्षेत्रभित्र संकलन पुर्जी दिने गरिएको छ।

जिल्लाका सबै स्थानीय तहभित्रका संरक्षण क्षेत्रका वन क्षेत्रमा यार्सागुम्बा संकलनको अनुमति दिने तथा जिल्लाबाहिरका नागरिकलाई यार्सागुम्बा संकलनको अनुमति सम्बन्धित संरक्षण व्यवस्थापन समितिले दिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।

यार्सागुम्बा संकलनका लागि स्वीकृति पाएपछि मात्रै संकलक हिमाली भेगतर्फ लाग्छन्। नार्पाभूमिका लेकमा जिल्लाभित्रका नागरिकलाई यार्सागुम्बा संकलन गर्न अनुमति दिइएको छ भने बाहिरी जिल्लाका नागरिकलाई भने अनुमति दिइएको छैन।

Laxmi sunrise bank
kumari

उनले भने, 'विकट भएकाले सुरक्षाको चुनौतीलाई ध्यानमा राखेर नार्पाभूमिमा यार्सागुम्बा संकलन गर्न अनुमति दिइएको छैन। अन्य स्थानीय तहमा यार्सागुम्बा संकलनको अनुमति दिइएको छ।'

एक्याप इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा संकलनका लागि अनुमति दिएपछि मात्रै लेक जान पाउने प्रावधान छ। यार्सागुम्बा संकलनका निम्ति नाम्ग्या लेकमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई संकलन अनुमति दिइन्छ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जिल्लाभित्र यार्सागुम्बा संकलनको समय सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए। उनले सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै अप्रिय घटना हुनबाट सजगता अपनाइएको बताए।

नासोँ गाउँपालिका-८ ताचैस्थित नाम्ग्या लेकबाट यार्सागुम्बा संकलन थालिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासोँ-८ का वडाध्यक्ष याद घलेले जानकारी दिए। बैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा संकलन गर्ने उपयुक्त समय हो।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अहिले यार्सागुम्बा संकलन गरिने भए पनि बाह्य जिल्लाका संकलकलाई अनुमति नदिइएको बताए। उनले भने, 'सुरक्षाको चुनौतीकै कारण बाह्य जिल्लाबाट आउने यार्सागुम्बा संकलकलाई रोक लगाएका छौँ। स्थानीयलाई मात्र संकलनको अनुमति दिँदै आएका छौँ।'

नार र फुमा अन्य जिल्लाबाट आउने संकलकलाई यार्सागुम्बा संकलनमा रोक लगाइएको बताए। नार्पाभूमिको नार र फु संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी यस्तो निर्णय गरिएको हो। जिल्लाका अन्य हिमाली भेगमा बैशाखदेखि र नार्पाभूमिमा जेठदेखि मात्रै यार्सागुम्बा संकलन गरिन्छ।

यार्सागुम्बा संकलनकर्ताबाट संकलन गरेको यार्सागुम्बा खरिद गर्न आउने व्यक्तिलाई जिल्लाका भएमा प्रतिव्यक्ति २० हजार रूपैयाँ र जिल्लाबाहिरका खरिदकर्तालाई प्रतिव्यक्ति ४० हजार रूपैयाँका दरले संरक्षण क्षेत्र व्यवस्थापन समितिले दस्तुर लिने गरेको छ।

पुर्जी काटेर संकलन गर्न अनुमति दिइन्छ। ३५ हजार रूपैयाँमा पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने संकलकलाई समितिले सहज रूपमा लेकतर्फ जान अनुमति दिइन्छ। चारवटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबैमा यार्सागुम्बा पाइन्छ।

मनाङको नाम्ग्य लेक, किन्चो लेक, याक लेक, पिसाङ लेक, फू लेक, मनाङ लेक, आइस लेक, स्याक्यु लेक, थोराङ्ला लेकलगायतका क्षेत्रमा यार्सागुम्बा बढी मात्रामा पाइन्छ। रासस

प्रकाशित: Apr 29, 2025| 18:01 मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्