बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्रिस्चियन प्रचारको अर्को हथकन्डा : स्वस्थानीको किताबमा यिसुख्रिस्टको कथा

क्रिस्चियन प्रचारको अर्को हथकन्डा : स्वस्थानीको किताबमा यिसुख्रिस्टको कथा

बजारमा भएका विभिन्‍न प्रकाशनका ‘श्रीस्वस्थानी कथा’ का पुस्‍तक बिक्री भइरहेका छन्। जसमध्ये बाबु माधवप्रसाद शर्माको प्रकाशनमा रहेको ’श्रीस्वास्थानी कथा’ मार्फत क्रिस्चियन धर्म प्रचार भइरहेको भेटिएको हो।
 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
National life
Shivam cement

काठमाडौं- पछिल्लो समय निकै विवाद र समस्याको विषय बनेको छ, क्रिस्चियन धर्म प्रचार। विभिन्‍न संघसंस्थाका माध्यमबाट, सहयोग र अनुदान वितरण गर्ने नाममा, विविध कार्यक्रम आयोजना गर्ने नाममा नेपालमा क्रिस्चियन धर्म प्रचार हुँदै आएको कुरा नयाँ होइन। अहिले आएर हिन्दू धार्मिक ग्रन्थ स्वस्थानीको पुस्तकमार्फत् क्रिस्चियन धर्म प्रचार भइरहेको भेटिएको छ। बजारमा भएका विभिन्‍न प्रकाशनका ‘श्रीस्वस्थानी कथा’ का पुस्‍तक बिक्री भइरहेका छन्। जसमध्ये बाबु माधवप्रसाद शर्माको प्रकाशनमा रहेको ’श्रीस्वास्थानी कथा’ मार्फत क्रिस्चियन धर्म प्रचार भइरहेको भेटिएको हो। यो प्रकाशन गृह के २३/१११, दूधविनायक, वाराणसी–१ भारतमा छ।

माधवप्रसाद शर्मा निर्वाचन आयुक्त इला शर्माका पिता हुन्। तत्कालीन राणा प्रधानमन्त्री देवशमशेर पदच्यूत भएपछि बनारस जाँदा सँगै गएका पुरेत थिए, धादिङका पण्डित भवनाथ शर्मा रेग्मी । उनै शर्माका छोरा हुन् बाबु माधवप्रसाद। भवनाथले उतै घरजम गरे र उनका छोरा माधवप्रसादले बनारसमा प्रकाशनगृह खोले। अहिले उक्त प्रकाशन गृह स्व. माधवप्रसादका छोरा सागर शर्माले सञ्‍चालन गरिरहेका छन्।

उक्त पुस्तकको अन्तिम दुई पाना (पृष्ठ २६७ र २६८) मा विशेष टिप्पणी भनेर क्रिस्चियनको पवित्र धार्मिक ग्रन्थमा भएको कुरा उल्लेख गरिएको छ। विशेष टिप्पणीको पहिलो अनुच्छेदमा लेखिएको छ, ‘कर्मफल, वाञ्‍छा अथवा इच्छाप्राप्ति र प्रभुको लीला एवं करुणा बुझाउन र संशय नाशको निम्ति हाम्रा धर्मग्रन्थादीमा अनेकौं कथानक पाइन्छन् तर धर्मको सार्वभौमिकता दर्शाउने विविधता पनि रहोस् भनी अहिलेको युगमा प्रधानता पाएको इसाई मतको एउटा मर्मभेदी कथाको उद्धरण यहाँ दिइन्छ।’

त्यसैगरी अन्तिम अनुच्छेदमा लेखिएको छ, ‘ठूलो समुदायद्वारा पुत्र मानिएका इसामसीहको जीवनमा यस घटनाको आधारमा बनाइएका यस कथानकले पनि छोटकरीमा कर्म र प्रारब्दिको गहन गति नै दर्शाउँछ, साथै धैर्यसाथ धर्ममा रही आफ्नो कर्मफलादी काट्दै रह्यो भने उपयुक्त समय आएपछि भक्तजनको इच्छा पूर्ति हुने पनि बुझाउँछ।......अस्तु।’

यसमा उल्लेख गरिएको प्रसंग बाइबलको ६६ वटा ग्रन्थमध्ये चारवटा ग्रन्थमा भएको कुरा राखिएको इसाई धर्मावलम्बी नवीन राईले बताए। उनले भने, ‘बाइबलका ६६ वटा ग्रन्थ छन्। जसमा २७ वटा नयाँ नियम र ३९ वटा पुराना नियम भनेर उल्लेख गरिएको छ। नयाँ नियमअन्तर्गत यिसु ख्रिस्टसँग हिँड्ने चेलाहरुको यिसु ख्रिस्टको विषयमा दिएको सन्देश राखिएको छ। जसमध्ये चारवटा मति २७–५६, मर्कुस १५–१६-४१, लुका २३ : ६–५६, यूहन्‍ना १९ : १६–४२ मा भएका कुरा समेटेर यस टिप्पणीअन्तर्गत राखिएको छ।’

यो पुस्तक बजारमा भएका अन्य प्रकाशनका पुस्तकको तुलनामा सस्तो छ। एक पुस्तक विक्रेताका अनुसार अहिले विभिन्‍न प्रकाशनका स्वस्थानीको पुस्तकमध्ये सबैभन्दा बढी यो नै बिक्री भइरहेको छ। उनले भने, ‘यो अन्‍य पुस्तकको तुलनामा सस्तो पर्ने भएकाले पनि बढी बिक्री भएको हो। यसको मूल्य २५० भारतीय रुपैयाँ पर्छ, जसलाई हामीले छुट दिएर ३६० रुपैयाँमा बिक्री गरिरहेका छौं,’ उनले थपे, ‘हाम्रो त बिक्री गर्ने काम हो, यस्तो छ भन्‍ने नै थाहा थिएन। तपाईंले भनेपछि बल्ल थाहा भयो।’

राजधानीमा रहेका अधिकांश पुस्तक पसलमा यो पुस्तक बिक्री भइरहेको छ। विशेष गरी नेपाली हिन्दूहरू भएका क्यानडा, अष्ट्रेलियामासमेत यसको बिक्रीवितरण  व्यापक रुपमा भइरहेको बताइन्छ। आफू पुस्तक पढ्दै गर्दा यस्तो कुरा देखेपछि अचम्मित भएको मोदनाथ पौडेलले बताए। उनले भने, 'यसरी षड्‍यन्त्रपूर्ण रुपमा हिन्दू धर्मको अपमान हुने किसिमले स्वास्थानीमा राख्‍नु ठूलो अपराध हो। यसरी हिन्दू धर्ममाथि प्रहार भइरहँदा पनि सरकारी तवरबाट मौनता साँध्‍नु झनै गम्भीर विषय बनेको छ,' उनले थपे, 'हिन्दूमाथि चौतर्फी हमला गर्ने तत्वलाई समयमै रोक्न जरुरी छ।'

स्वास्थानी व्रतकथा हिन्दूहरुले शताब्दीऔंदेखि घरघरमा पुस शुक्ल पूर्णिमाको दिनदेखि माघ शुक्ल पूर्णिमासम्म एकचित्त र एकाग्र भई एकछाक मात्रै खाएर व्रत बसी वाचन गर्ने र सुन्दै आएका छन्। यसमा लेखिएका हरेक कुराले उनीहरुको मानसपटलमा गहिरो छाप राख्‍ने भएकाले हिन्दू धर्मको अपमान हुने किसिमले स्वास्थानीकै किताबमा क्रिस्चियनको कथा राखिएको हुन सक्ने ज्योतिष पण्डित बिहंगमराज तिमल्सिनाले बताए। उनले भने, ‘हिन्दूको खोल ओढेर यसरी क्रिस्चियन धर्म प्रचार गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ। यसो गरिएन भने यो भाइरसजसरी फैलिनेछ।'

नेपालको संविधानको धारा १७ (स्वतन्‍त्रताको हक) २ (१) खण्ड (क) मा लेखिएको छ, ‘कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा वा संघीय एकाइ वा विभिन्न जात, जाति, धर्म, सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती, अदालतको अवहेलना हुने, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन।’

त्यसैगरी २६ (धार्मिक स्वतन्त्रताको हक) को उपधारा ३ मा लेखिएको छ, ‘यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न गराउन वा कसैलाई धर्म परिवर्तन गराउने वा अर्का धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न गराउन हुँदैन र त्यस्ता कुरा कानुनबमोजिम दण्डनीय हुनेछ।’

संविधानविद् भीमार्जुन आचार्यका अनुसार प्रकाशनमार्फत यसरी धार्मिक आस्थामा चोट पुर्याउने काम गर्ने प्रकाशनगृहलाई नै कारबाही गर्नुपर्छ। उनले भने, ‘यो सरासर प्रकाशन गृहको गलत कार्य हो। सार्वजनिक कसुरअन्तर्गत यस्तो घृणित कार्य गर्नेलाई कारबाही गर्नुपर्छ।’

त्यसैगरी अधिवक्ता मिलन श्रष्ठले भने, ‘क्रिस्चियन धर्मको यस्तो बिगबिगी भइरहेका बेला हिन्दूको धार्मिक पुस्तकमा यसरी बाइबलको प्रचार गर्नु हिन्दू धर्ममाथिको ठाडो हस्तक्षेप हो। धार्मिक कलह ल्याउनु अपराध हो। अपराध गर्ने जोकोहीलाई पनि कानुनले छोड्नु हुँदैन।’

यसअघि मंसिर १५ देखि १७ गतेसम्म राजधानीमा विवादित संस्था युनिभर्सल पिस फेडेरेसनको आयोजना तथा नेपाल सरकारको सहआयोजनामा विश्‍वका अधिकांश मुलुकमा प्रतिबन्ध लगाइएका सरकार प्रमुखलाई बोलाएर क्रिस्चियन धर्म प्रचार गरेको भन्दै सरकारको निकै आलोचना भएको थियो। प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा देशभरका जनप्रतिनिधिलाई कोरियाली महिला मदर मुनको हातबाट होली वाइन पिलाएर बाइबलका श्लोक उच्चारण गर्न लगाउनुका साथै मदर मुनको पाउ छुन लगाइएको थियो।

त्यसअघि १८ वैशाखमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई विद्यालय उद्घाटन कार्यक्रममा बोलाएर एक एनजिओले दोलखामा उनैको हातबाट क्रिस्चियन धर्म प्रचारका सामग्री वितरण गर्न लगाएको थियो। जिल्लाको शैलुङलिका ८ स्थित शैलुगेश्वरको भैंसेमा विद्यालय भवन बनाएको ‘दयाका हातहरु’ नामक एउटा गैरसरकारी संस्थाले भवन उद्घाटन गर्न आमन्त्रण गरिएका उपराष्ट्रपतिकै हातबाट धर्म प्रचारका सामग्री बालबालिकालाई वितरण गराएको थियो।

अध्यागमन विभागको तथ्यांकअनुसार पछिल्लो चार महिनामा नेपाल आएर धर्म प्रचारमा संलग्‍न १६३ विदेशी नागरिकलाई देश निकाला गरिएको छ। त्यसैगरी सचेतनामूलक तथा सामाजिक र सशक्तीकरणका कार्यक्रम गर्ने नाममा ग्रामीण जिल्लाका केही संघसंस्थालाई रकम दिएर परियोजनामार्फत धर्म प्रचारमा रकम बाँडेका समाचार पनि आउने गरेका छन्।

धर्मनिरपेक्षताको फाइदा उठाउँदै सर्वसाधारणको घरघरमा गई आर्थिक प्रलोभनमा पार्ने, हिन्दू धर्मग्रन्थ र देवीदेवतामाथि लान्छना लगाई आफ्नो धर्मप्रति आकर्षित गर्न खोज्ने प्रवृत्ति निकै बढिरहेको छ। बाटो हिँड्दै गर्दा पनि प्रभुको सन्देश भन्दै किताब बाँड्‍ने बटुवालाई दिक्क बनाइरहेका घटना पनि अब कुनै नौला रहेनन्।

यस्तो लेखिएको छ स्‍वस्थानीको किताबमा



 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।