सुनसरी- आइतबार रातीकाे हावाहुरी र वर्षाले सुनसरीमा मकैखेती र आँपखेतीमा क्षति गरेको छ। सदरमुकाम इनरूवासहित देवागञ्ज, भोक्राहा, बराहक्षेत्र, हरिनगरलगायतका क्षेत्रमा गरिएको मकैखेती र आँपखेतीमा हावाहुरीसहितको वर्षाले क्षति पुर्याएको हो।
कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख नीलकमल सिंहका अनुसार जिल्लाको विभिन्न ठाउँमा सघन र व्यावसायिक रूपमा मकैखेती गरिँदै आइएको छ। भित्र्याउने बेला हावाहुरीसँगै वर्षाले मकैखेतीमा क्षति पुर्याएको हो।
हावाहुरी र वर्षाले मकै, फलफूल तथा तरकारीको फलसमेत खसेका कारण ठूलो नोक्सानी भएको कृषिज्ञान केन्द्रले जनाएको छ। आँपमा समेत क्षति भएको ज्ञानकेन्द्र प्रमुख सिंह बताउँछन्। आँपमा चिचिला लागिसकेको छ।
त्यसैगरी लौका, काँक्रा, करेला, परवल, बोडीलगायत लहरे तरकारी बालीमा पनि क्षति भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ। आइतबार राती हावाहुरीसँगैको वर्षा भएको थियो। क्षतिको तथ्यांक संकलन गर्ने कार्य भइरहेको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख सिंहले जनाएका छन्। रासस