शुक्रबार, पुस ११, २०८२

पोखरामा तीनवटा खानेपानी आयोजना एकसाथ निर्माण हुँदै

 |  आइतबार, वैशाख १४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०८२

गण्डकी- कास्कीको पोखरा महानगरपालिकामा एक साथ तीनवटा खानेपानी आयोजना निर्माण हुने भएका छन्। महानगरपालिकाको ११, २१ र ३३ मा तीन ठूला खानेपानी आयोजना निर्माण हुन लागेका हुन्।

National life

पोखरा-११ मा जलवायु अनुकूलित बृहत् आयोजनाअन्तर्गत काँहुधरहरा खानेपानी आयोजना, पोखरा-२१ र ३३ लाई समेट्ने गरी केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत बृहत् भरतपोखरी-निर्मलपोखरी-किस्ती खानेपानी आयोजना, मट्टीखान खानेपानी आयोजना निर्माणका लागि प्रक्रिया अगाडि बढेको हो।

आयोजना निर्माण, सञ्चालन र कार्यान्वयन गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका आयोजना प्रमुख पदमबहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाँई र तीनवटै खानेपानी आयोजनाका अध्यक्षले बिहीबार त्रिपक्षीय समझदारी गरेका थिए।

लागत साझेदारीमा बन्ने ती आयोजनामार्फत काहुँडाँडा, किस्ती, भरतपोखरी, निर्मलपोखरी, मट्टीखानलगायत क्षेत्रमा खानेपानीको सहज सेवा पुग्ने छ। बृहत् भरतपोखरी-निर्मलपोखरी-कृस्ती खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार रुपैयाँ लागतमध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट २८ करोड ४९ लाख ९१ हजार रुपैयाँ स्रोत सुनिश्चित भइसकेको छ। 

काँहुधरहरा खानेपानी आयोजनाका लागि ४९ करोड १७ लाख मध्ये २१ करोड छ लाख २४ हजार र मट्टीखान खानेपानी आयोजनाको २८ करोड ५४ लाख ६५ हजारमध्ये १९ करोड ७६ लाख ४१ हजार रुपैयाँ स्रोत सुनिश्चित भएको हो। समझदारीअनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालु आवमा पोखरा महानगरपालिकाले कुल लागतको १० प्रतिशत रकम बेहोर्ने छ।

Laxmi sunrise bank
kumari

तीनवटै परियोजनाको कुल लागत १ अर्ब २९ करोड ४९ लाख ५८ हजार रुपैयाँ लाग्ने अनुमान छ। परियोजनाको कुल लागतको ९० प्रतिशत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले खर्च गर्ने जनाइएको छ।

बृहत् भरतपोखरी-निर्मलपोखरी-किस्ती खानेपानी आयोजनाअन्तर्गत पोखरेल थोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी संकलन तथा प्रशोधन गरी १७ किमी सिमलेससहित ३५ किलोमिटर  पाइपमार्फत उपोक्ताको घरघरमा पानी पुर्याइने आयोजना प्रमुख क्षेत्रीले बताए। उक्त आयोजनाबाट करिब २४ सय घरपरिवार लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले जानकारी दिए।

उक्त आयोजनामा २ सय, १ सय, ७५, ५० र २० घन मिटरका ११ पानी ट्यांकी निर्माण हुनेछन्। यस्तै काँहुधरहरा खानेपानी आयोजनामा काँहुमा प्रशोधन केन्द्र निर्माण गरी १७ किमी पाइप लाइनमार्फत उपभोक्ताको घरघरमा पानी पुर्याइने छ।करिब १ हजार ५०० घरपरिवार लाभान्वित हुने यो आयोजनाअन्तर्गत तीन सय घनमिटरको एक र एक सय घनमिटरका दुईवटा ट्यांकी निर्माण गरिने छ।

मट्टीखान खानेपानी आयोजनाअन्तर्गत सेतीखोलाबाट पानी पम्पिङ गरी स्याङ्जाको फेदीखोला गाउँपालिकाको नुवाकोटमा पानी संकलन गरी मट्टीखान क्षेत्रमा वितरण गरिने छ। यस आयोजनामा ३५ किमी पानीको पाइप लाइन विस्तार हुने छ। विभिन्न ठाउँमा एक सय ५० र ३५ घनमिटर क्षमताका ८ वटा पानी ट्यांकी मार्फत आयोजनाले १ हजार २०० घरपरिवारलाई पानी वितरण गर्ने छ।

चालु आर्थिक वर्षबाटै योजना सञ्चालन गर्नेगरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गत फागुनमा बोलपत्रसमेत आह्वान गरिसकेको छ। तीन वटै आयोजना सम्पन्न भएपछि ५ हजार घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ। आयोजना कार्यान्वयन भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

‘एक घर, एक धारा’ लक्ष्यअनुसार यी आयोजना निर्माण हुन लागेका हुन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीलाई आधारभूत खानेपानीको उपलब्धताका लागि महानगर लागिपरेको बताए। महानगर क्षेत्रमा संघ, प्रदेश र महानगरस्तरीय विभिन्न आयोजना सञ्चालन भइरहेको उनले भनाइ छ।

‘पोखरा महानगरपालिकाको भूगोल विविधतायुक्त छ, यहाँ समथर मैदानदेखि अग्ला पहाडी भेग छन्, सबै स्थानमा खानेपानीको सहज उपलब्धता हुन नसकिरहेका बेला यी आयोजना सञ्चालन गर्ने चरणमा हामी आइपुगेका छौँ’ महानगर प्रमहुख आचार्यले भने। ‘जी टु जी’ अवधारणामा उपभोक्ताको तर्फबाट बेहोर्नुपर्ने १० प्रतिशत जनसहभागिताबापतको रकम महानगरपालिकाले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई उपलब्ध गराउने महानगर प्रमुख आचार्यले बताउँछन्। रासस

प्रकाशित: Apr 27, 2025| 18:31 आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्