काठमाडौं। शरद् ऋतु सन् २०२६ का लागि नेपालका विभिन्न हिमाल आरोहण गर्न अहिलेसम्म ६४८ जना आरोहीलाई अनुमति दिइएको छ। पर्यटन विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७१ वटा आरोहण दलमा आबद्ध ६४८ जनाले विभिन्न २० हिमालका लागि अनुमति पाएका हुन्।
प्रतिवेदनअनुसार अनुमति पाउनेमा ४८५ पुरुष र १६३ महिला छन्। यस अवधिमा हिमाल आरोहणबाट सरकारले १५ लाख ७१ हजार ६५९ अमेरिकी डलर अर्थात २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ रोयल्टी संकलन गरेको विभागले जानकारी दिएको छ।
प्रतिवेदनअनुसार शरद् ऋतुमा सबैभन्दा बढी आरोहीको आकर्षण मनास्लु हिमाल बनेको छ। ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि मात्रै ४३ वटा दलका ५०० जनाले अनुमति पाएका छन्। यसमा ३७३ पुरुष र १२७ महिला छन्।
मनास्लुबाट मात्रै १४ लाख ८५ हजार ८१६ अमेरिकी डलर, अर्थात् २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन भएको छ।
त्यसपछि धौलागिरि प्रथममा ३४ जना, गणेश हिमालमा १६ जना, गंगापूर्ण पश्चिममा ६ जना, थोराङ पिकमा ७ जना, नोरबु काङमा ४ जना र अन्नपूर्ण चौथोमा ४ जनाले आरोहण अनुमति पाएका छन्। त्यस्तै चाम्लाङमा ६ जना, बरुन सेमा १० जना, लामजुङ हिमालमा २ जना, पुमोरीमा ६ जना र पुथा हिलचुलीमा दुई समुहका २० जना आरोहीले अनुमति पाएका छन्।
विभागको देशगत विवरणअनुसार ६८ देशका नागरिकले शरद् ऋतुमा हिमाल आरोहणका लागि अनुमति पाएका छन्। देशगत तथ्यांकमा चीनका ११८, रुसका ५७, फ्रान्सका ५१, जर्मनीका ३४, बेलायतका ३८ र अमेरिकाका ४१ जना रहेका छन्। त्यस्तै जापानका २१, भारतका १८, अस्ट्रेलियाका १७, चेक गणतन्त्रका १६, स्पेनका १५, स्विट्जरल्यान्डका १३, इटालीका ९, क्यानडाका १६, दक्षिण कोरियाका ९ र पोल्यान्डका १९ जना आरोहीले अनुमति पाएका छन्।