बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक

स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक

 |  बुधबार, असोज १४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०८३

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले रोग नियन्त्रण, औषधि तथा खाद्य नियमन र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि प्रस्तावित रोग नियन्त्रण केन्द्र (सीडीसी), खाद्य तथा औषधि प्रशासन (एफडीए) र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण (एनएचएए) निर्माण गर्दा विद्यमान संस्थाको विशेषज्ञता, जनशक्ति र अनुभवलाई संरक्षण गर्नुपर्ने बताएकी छन्।

सीडीसी, एफडीए तथा एनएचएए स्थापना सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री मेहताले प्रस्तावित तीनवटै संरचना समग्र स्वास्थ्य प्रणालीसँग जोडिएको बताइन्। उनले औषधि तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टता हटाउँदै औषधि, खोप, स्वास्थ्य उपकरण तथा रोग परीक्षण सामग्रीलगायतको नियमनलाई व्यवस्थित गर्नुपर्ने बताइन्।

मन्त्री मेहताले स्वास्थ्य संस्थाको गुणस्तर कायम गर्न सरकारी, निजी तथा गैरसरकारी सबै स्वास्थ्य संस्थामा आधारभूत राष्ट्रिय मापदण्ड आवश्यक रहेको बताइन्। उनका अनुसार एनएचएएले स्वास्थ्य संस्थाको बाह्य मूल्याङ्कन तथा गुणस्तर प्रत्यायनको प्रणाली विकास गर्न सक्नेछ।

त्यस्तै, सीडीसीलाई रोग निगरानी, महामारीको तयारी तथा आकस्मिक प्रतिकार्यमा संघीय तहबाट प्राविधिक नेतृत्व गर्ने संरचनाका रूपमा विकास गर्न सकिने उनले बताइन्। हाल कार्यरत सम्बन्धित निकायको जनशक्ति र विशेषज्ञतालाई समेत नयाँ संरचनामा उपयोग गर्नुपर्ने उनको भनाइ थियो।

'सुधार रूपान्तरणका लागि हुनुपर्छ, विकृतिका लागि होइन। हाम्रो उद्देश्य संस्था बनाउनु मात्रै होइन, स्वास्थ्य प्रणाली बलियो बनाउनु हो,' मन्त्री मेहताले भनिन्।

उनले प्रस्तावित तीनवटै संरचनाको अन्तिम स्वरूप तत्काल निर्धारण गर्ने चरणमा मन्त्रालय नरहेको स्पष्ट पारिन्। अहिले मस्यौदा, कार्यढाँचा र मार्गचित्र तयार गर्ने चरणमा रहेको बताउँदै उनले संरचना निर्माणका क्रममा सम्बन्धित सरोकारवाला, प्रदेश तथा स्थानीय तह, निजी क्षेत्र, स्वास्थ्यकर्मी, विज्ञ तथा शैक्षिक क्षेत्रसँग चरणबद्ध रूपमा छलफल गरिने जानकारी दिइन्।

प्रकाशित: Sep 30, 2026| 18:03 बुधबार, असोज १४, २०८३
प्रतिक्रिया दिनुहोस्