काठमाडौं- सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनाबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले राजीनामाबारे जानकारी नभएको बताएका हुन्।
उनले भने, ‘शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने सरकारको जानकारीमा छैन। प्रधानमन्त्रीको कार्यालयमा राजीनामा दिएको भए सरकारको प्रवक्तालाई थाहा हुन्छ। क्याविनेटमा जानकारी हुन्छ। राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्रीले नै हो। आजको दिनसम्म जानकारी छैन। तर, विगत एक महिनादेखि बिरामी हुनुहुन्छ। त्यसैले मन्त्रालयमा गएर काम गर्ने परिस्थिति नभएको होला भन्ने लाग्छ मलाई।’
क्वाटर नै छाडिसक्नुभयो भयो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, 'काम नै गर्न नसक्ने बिरामी भएपछि किन भन्ने होला त?’