बिहीबार, असार ४, २०८३

बागलुङका एक सय ६ खानेपानी मुहानमा कोलिफर्म भेटियो

 |  सोमबार, चैत १८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

ढोरपाटन- जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न दुई सय ८५ स्थानमा कोलिफर्म परीक्षण गरेको थियो।

National life

सबैभन्दा बढी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले जानकारी दिए। उनका अनुसार काठेखोलामा ४७ वटा मुहानमा परीक्षण गरेकामा २७ वटा र जैमिनीमा एक सय छ वटा मुहानमा परीक्षण गरेकामा ४४ वटामा भेटिएको हो। परीक्षणको दायरा बढाए अझै धेरै मुहानमा कोलिफर्म भेटिन सक्ने आचार्यको भनाइ छ।

जनस्वास्थ्य कार्यालयले जिल्लाको निसीखोला, तमानखोला, ताराखोला, बरेङ, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन र बागलुङ नगरपालिकाका खानेपानीमा कोलिफर्म परीक्षण गरिरहेको छ। धेरै ठाउँबाट परीक्षण गर्न आग्रह गरेकाले विस्तारै सबै स्थानीय तहमा परीक्षण गरिने उनको भनाइ छ।

आचार्यले भने, “हामीले जिल्लाको धेरै ठाउँमा पुगेर खानेपानीको मुहान परीक्षण गर्दा कोलिफर्म फेला परेको छ, कोलिफर्म भएको पानी पिउनका लागि उपयुक्त हुँदैन, यस्तो पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपाटाइटिस बीलगायत पानीजन्य रोग लाग्छ, त्यसले गर्दा जनस्वास्थ्य कार्यालयले जनचेतना मुलक कार्यक्रम गरी रहेको छ।”

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पालिकाले ‘वास प्लान’ बनाएको र सोहीअनुसार मुहान सरसफाइ र संरक्षणमा लाग्ने बताए। कोलिफर्म देखिएको मुहानलाई व्यवस्थित गरी आमनागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउने उनको भनाइ छ।

Shivam cement

“कोलिमर्फ नियन्त्रणका लागि नगरपालिकाबाट हुने प्रयास गर्छौँ, अन्य निकायबाट प्राविधिक सहयोग लिन्छौँ, कोलिफर्मबाट पर्ने असरबाट बच्न आम नागरिकलाई सचेत बनाउँछौँ”, उपप्रमुख शर्माले भने, “धेरै मुहानमा कोलिफर्म भेटिएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, यसप्रति हामी गम्भीर भएका छौँ।”

प्रकाशित: Mar 31, 2025| 08:17 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्