काठमाडौं- सीजी मोटर्सले नेपालकै पहिलो इलेक्ट्रिक पिकअप रिडाराको फोरह्विल ड्राइभ इभी ‘आरडी सिक्स’ सार्वजनिक गरेको छ ।
नेपालको भौगोलिक बनावटलाई मध्यनजर गर्दै डिजाइन गरिएको यस गाडीमा बालुवा, हिलो, अफ–रोड, वाडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता सातवटा विशेष ड्राइभिङ मोड उपलब्ध छन् ।
रिडारा फोर ह्वील ड्राइभमा फ्रन्टमा ११५ किलोवाट र रियरमा २०० किलोवाटको ड्युल मोटरसेटअप छ । यो मोटरले संयुक्त रुपमा ४२२ हर्सपावर तथा ५९५ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । यसको टपस्पीड १९० किलोमिटर प्रतिघण्टा छ । ७३ किलोवाट आवर ब्याट्री क्षमतासहित यो पिकअपले एकपटकको पूर्ण चार्जमा ४२४ किलोमिटर दूरी तय गर्न सक्नेछ ।
गाडी सुरक्षाको थप प्रत्याभूति गर्न र चालकलाई उच्च आत्मविश्वास प्रदान गर्न रिडारामा ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा जडान गरिएको छ ।
नेपाली बजारमा रिडारा फोर ह्वील ड्राइभ तीन फरक भेरियन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ । रेडारा फोरह्वील ड्राइभको ३ भेरियन्टमा बेस अप्सन, विथ सनरुफ तथा सनरुफ विथ ड्युलटोन कलर रहेको छ । कम्पनीले बेस अप्सनको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ, विथ सनरुफको ८१ लाख ९९ हजार र ड्युलटोन कलर विथ सनरुफको ८२ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
हात्तीवन रिसोर्ट, फर्पिङ, दक्षिणकालीमा सार्वजनिक गरिएको यो विद्युतीय पिकअप गाडीले नेपालको विद्युतीय यातायातको विकासमा महत्वपूर्ण खेल्नेछ ।
यसअघि सीजी मोटर्सले नाडा अटो सोमा रिडाराको रियल ह्विल भेरियन्ट सार्वजनिक गरेको थियो ।