काठमाडौं- हुन्डाई कम्पनीको नयाँ विद्युतीय (ईभी) एसयूभी क्रेटा नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार क्रेटा ईभी सार्वजनिक गरेको हो।
गाडी सार्वजनिक कार्यक्रममा लक्ष्मी ग्रुपका संस्थापक अध्यक्ष गणेशबहादुर श्रेष्ठले पेट्रोलियम क्रेटाझैं यो पनि सफल हुने विश्वास व्यक्त गरे।
नेपालका लागि कोरियाली राजदूत पार्क ताइयोङले हुन्डाई नेपालमा सफल ब्रान्ड भएको बताउँदै यो सहकार्य निरन्तर रहने बताए।
किफायती, रेन्ज, डिजाइन तथा स्टाइल एवं फिचरले भारतमा सार्वजनिक भएयता नेपालमा क्रेटा ईभीको प्रतीक्षा गरिएको थियो। हुन्डाईको क्रेटा ईभी दुई ब्याट्री प्याकको अप्सनमा उपलब्ध छ। जसमा ४२ किलोवाट आवरको ब्याट्री प्याक अप्सनले ३९० किलोमिटर र ५१.४ किलोवाट आवरको ब्याट्री प्याकले ४७३ किलोमिटर रेन्जमा दिन्छ।
४२ किलोवाट आवरको ब्याट्रीसँग १०० किलोवाटको मोटर छ भने, ५१.४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको गाडीमा १२६ किलोवाटको मोटर छ।
नेपाली बजारमा ४२ किलोवाट आवरको ब्याट्री प्याक र एक सय किलोवाटको मोटर रहेको हुन्डाई क्रेटा ईभीका मोडल भित्र्याइएको छ।
विभिन्न फिचर तथा डिजाइनका आधारमा क्रेटा ईभी एक्ज्युकेटिभ, स्मार्ट, स्मार्ट ओ र प्रीमियम प्लस गरी चार भेरियन्टमा उपलब्ध छ।
क्रेटा ईभी एक्ज्युकेटिभको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ रहेको छ। यस्तै, स्मार्ट भेरियन्टको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ छ।
स्मार्ट ओ को मूल्य ५६ लाख ९६ हजार रुपैयाँ छ। यस्तै, प्रिमियम प्लस भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ छ।
यसले ७.९ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति दिने कम्पनीले जनाएको छ।
६ एयरब्याग रहेको क्रेटा ईभीमा एबीएस विथ ईबीडी, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इडिन्केटर विथ फ्लास एडजस्टमेन्ट जस्ता सुरक्षा फिचर छन्। टिमरसहितको रियर डिफोगर, अटो होल्डसहितको ईपीबी र एफआर क्यामेरा, राडार र आरआर राडारसहितको एडास फिचर गाडीमा छ।
गाडीबाहिर सुरक्षा एवं सहजताका लागि राखिएका सुविधामा एलईडी टर्न इन्डिकेटर, एक्टिभ एयर फ्ल्याप, हेलोजन प्रोजेक्सन हेडल्याम्प, एलईडी सिक्वैन्सियल इडिन्केटर छ। यस्तै, पडल ल्याम्पविथ एच लोगो प्रोजेक्सन, एलईडी एमआरएफ हेड ल्याम्प, एलईडी डीआरएलएस र एलईडी टेल ल्याम्प जस्ता सुविधा गाडीको एक्सटेरियरमा छन्।
गाडीभित्र ईभी युनिक कलर थिम, फुल क्लथ सिट फेब्रिक, सिफ्ट बाई वायर कलम टाइप, १०.२५ इञ्चको डिजिटल क्लस्टर, डीएलएक्स डोर स्कुफ, एम्बियेन्ट लाइटिनिंग, एलईडी रिडिंग ल्याम्प र ईभी युनिकि स्टेरिङ ह्विल छ।
यस्तै, स्टेरिङमा अडियो तथा फोन कन्ट्रोल माउन्ट गरिएको छ। ब्लुटुथ कनेक्टिभिटी, भीआर फंक्सन, १०.२५ इञ्चको इन्फोटेनमेन्ट स्क्रिन, बोस प्रिमियम साउन्ड सिस्टम छ। आठवटा स्पिकर सिस्टम रहेको गाडीमा जिओ साभन म्युजिक स्ट्रिमिङ समेत उपलब्ध छ।
गाडीमा प्याडल सिफ्टरसहितको रिजेनरेटिभ ब्रेकिङ सिस्टम छ। ड्राइभर सिट ६ तरिकाले पावर एडजस्टेबल छ।
वायरलेस र्चाजिङ, फ्रन्ट स्टोरेज, फ्रंक एलईडी ल्याम्प, रियर म्यानुअल कर्टिन, स्मार्ट पानारोमिक सनरुफ र स्मार्ट रिजेनेरेटिभ ब्रेकिङ क्रेटा ईभी एसयूभीमा छ।
गाडीको ब्याट्रीबाट अन्य कुरा चार्ज गर्न एवं उपकरण चलाउन भीटूएल, एक्यूआई इन्डिकेटर, ड्राइभ मोडल सिलेक्ट, रियर वाईपर र वासर, क्रुज कन्ट्रोल सुविधा छ।
स्टार्टका लागि पुस बटनसँगै गाडीमा स्मार्ट की रहेको छ। स्मार्ट कीबाट गाडीलाई टाढैबाट स्टार्ट गर्न सकिन्छ। गाइडलाइनसहितको रियर पार्किङ क्यामेरा र अटोफोल्डसहितको ओआरभीएम जस्ता सुविधा नेपाल भित्रिने ईभीमा मिल्ने हुन्डाईले जनाएको छ।
गाडी सात रङमा उपलब्ध छ। जसमा पाँचवटा मेटालिक, तीन मेट र दुई डुअल टोन रङ छन्।
११ किलोवाटको वाल बक्स फास्ट एसी चार्जिङबाट चार घण्टामा दशदेखि १०० प्रतिशत चार्ज हुने हुन्डाईले जनाएको छ।
डीसी चार्जिङबाट भने ५८ मिनेटमै १० देखि ८० प्रतिशत चार्ज हुनेछ। कम्पनीले ६० किलोवाटको डीसी फास्ट चार्जर सुझाव गरेको छ। गाडीले सीसीएस टाइप दुई चार्जिङ सपोर्ट गर्छ।