काठमाडौं- नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौँ समूहका लागि आवेदन खुला गरेको छ। सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरिएको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएका व्यक्तिहरू सहभागी हुन सक्नेछन्।
इच्छुक व्यक्तिहरूले आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन भइरहेको नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुनेछ। जसमा १८ दिनको निःशुल्क आवासीय तालिम र एक वर्षको परामर्श कार्यक्रम समावेश छ।
यसमार्फत हालसम्म तीनवटा समूहका ५६ उद्यमीले तालिम लिइसकेका छन् भने ४५ सामाजिक उद्यममार्फत एक हजार एक सय ८४ जनालाई रोजगारी दिइसकेको छ। कार्यक्रमअन्तर्गत हाल चौथो समूहका २० उद्यमीले प्रशिक्षण लिइरहेका छन् भने पाँचौँ समूहमा पनि देशभरिबाट आएका आवेदनबाट २० जना छनोट हुने बैंकले जनाएको छ।
कार्यक्रममा सहभागिताका लागि केवल १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ। व्यवसाय सुरु गरिसकेका तथा नवीन उद्यमशीलता सोच भएका व्यक्तिले यस कार्यक्रममा आवेदन भर्न सकिनेछ। कार्यक्रममा सहभागिताका लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपको फेसबुक पेजमा उपलब्ध क्युआर कोड स्क्यान गरेर आवेदन दिन सकिन्छ। साथै, नबिल बैंकको वेबसाइटबाट फाराम डाउनलोड गरी इमेलमार्फत पठाउन पनि सकिन्छ।
यस कार्यक्रममा जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, कला, सामुदायिक विकास, कृषि, ऊर्जाका साथै दिगो विकासका लक्ष्यसँग मेल खाने क्षेत्रमा काम गरिरहेका उद्यमीहरू कार्यक्रममा सहभागी हुन सक्नेछन्। कार्यक्रमले विभिन्न क्षेत्रका उद्यमीलाई एकै ठाउँ ल्याई अनुभवी मार्गदर्शक र उद्योग विशेषज्ञबाट प्रशिक्षण दिने बैंकले जनाएको छ। नबिल एसएसईअन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक सय १७ उद्यम स्थापना भई एक हजार दुई सयभन्दा बढी रोजगारी सिर्जना भइसकेको बैंकले जनाएको छ।