बुधबार, फागुन २८, २०८१

राजावादीको आन्दोलनमा योगी आदित्यनाथको तस्बिर प्रदर्शन

भारतको सम्बन्ध छ राजावादीको आन्दोलनसँग ?

 |  बुधबार, फागुन २८, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०८१

नेपालमा आजभोलि मानिसहरू राजतन्त्रको समर्थनमा सडकमा निस्किरहेका छन्। राजतन्त्रको पक्षमा रहेका व्यक्तिहरूले नेपालमा राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको माग गरिरहेका छन्।

health

गत आइतबार पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा हजारौं मानिसहरू उनको स्वागत गर्न विमानस्थल बाहिर भेला भएका थिए।

नेपाली पत्रकारहरूको भनाइअनुसार विमानस्थलको मुख्य ढोकामा ज्ञानेन्द्रका कम्तीमा १० हजार समर्थक थिए। भीड नारा लगाइरहेको थियो - नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन्।

नारायणहिटी नेपालको शाही दरबार हो, जहाँ राजा बस्थे। अहिले यो संग्रहालयमा परिणत भएको छ र मानिसहरु टिकट काटेर भित्र पस्न पाउँछन्।

नेपालमा प्रजातन्त्र आएदेखि ज्ञानेन्द्र शाह सार्वजनिक रूपमा यसरी विरलै देखिन्थे। उनी केही विशेष अवसरहरूमा औपचारिक वक्तव्य जारी गर्थे । तर पछिल्ला केही महिनादेखि उनी धेरै सक्रिय देखिएका छन्।

नेपालका जनता सरकारसँग धेरै निराश भएको र यसले राजतन्त्रका समर्थकहरूलाई अवसर दिएको भनिएको छ। नेपालमा केही भयो भने सबैको नजर भारततिर हुन्छ। आइतबार काठमाडौंमा ज्ञानेन्द्रलाई स्वागत गर्न भेला भएको भीडमा एक जना मानिस ज्ञानेन्द्रको फोटोसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेर उभिरहेका थिए।

योगी आदित्यनाथको तस्बिर देखिएपछि नेपालमा बहस सुरु भएको छ- यो आन्दोलन भारतसँग सम्बन्धित त छैन?

gyanendra-shah-1741525219.jpg
सत्तारुढ दल नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले ज्ञानेन्द्र र योगीको तस्बिर सेयर गर्दै फेसबुकमा लेखेका छन्, 'यो सात साल होइन। त्यतिबेला भागेर भारतीय दूतावासमा शरण लिँदै दिल्ली पुगेका त्रिभुवनलाई भारतले गद्दीमा फर्काइदिएझैं अहिले जनआन्दोलनबाट सत्ताच्यूत भएका ज्ञानेन्द्रलाई कसैले फर्काइदिन्छ भनेर मुख नमिठ्याए हुन्छ।'

रिजालले थप लेखेका छन्, 'जुन योगीको तस्बिर बोकेर प्रदर्शन भएको छ, तिनैको राज्य उत्तर प्रदेशमा ५० करोड मानिसले कुम्भमा भाग लिँदा 'हिन्दू–सम्राट' भनेर दाबी गर्ने ज्ञानेन्द्रले कोसिस गर्दा पनि निम्तो नपाएको भर्खरै हो। गणतन्त्रको विरोध गर्दा 'विदेशीले ल्याइदिएको' भनेर जनताको मानमर्दन गर्ने तर गुमेको सत्ता फर्काउन विदेशीको दलाली गर्ने कुराले कथित राष्ट्रवादको मुखुण्डो राम्रैसँग उतारिदिएको छ।'

रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुन्। ज्ञानेन्द्रलाई राप्रपाको समर्थन छ। मिश्र राजतन्त्र फिर्ता ल्याउने आन्दोलनमा संलग्न छन्। ज्ञानेन्द्रसँग योगीको तस्बिर कसरी आयो र यसको अर्थ के हो भनेर मैले उनलाई सोधें।

मिश्र भन्छन्, 'लाखौंको भीडमा कसले कसको फोटो ल्यायो भनेर हामी निश्चित हुन सक्दैनौं। योगी आदित्यनाथको पोस्टर समातेर एक जनामात्र उभिरहेका थिए। उनले आफ्नो नाम पनि खुलाएका छन् - प्रदीप विक्रम राणा। जब लाखौं मानिसहरू सडकमा आउँछन्, धेरै कुराहरू हुन्छन् जुन हुनु हुँदैनथ्यो। हामी शान्तिपूर्ण रूपमा सडकमा निस्कियौं। कतै पनि हिंसा भएन। यसको कदर गर्नुपर्छ तर मानिसहरू कसको बारेमा कुरा गरिरहेका छन्? त्यो एक व्यक्ति जसले योगीको तस्बिर ल्याएको थियो। यस्ता विरोध प्रदर्शनहरूमा साना कुराहरू भइरहन्छन्। मलाई लाग्छ राजाको एजेन्डा यति लोकप्रिय हुँदै गइरहेको छ कि सरकारले यसलाई हानि पुर्‍याउन विभिन्न रणनीति अपनाउँदैछ।'

को थिए प्रदीप विक्रम राणा?
रवीन्द्र मिश्र भन्छन्, 'सरकार हाम्रो आन्दोलनसँग डराएको छ। जनता सरकारबाट निराश हुँदै गएका छन् र राजतन्त्रको समर्थनमा आइरहेका छन्। हाम्रो आन्दोलन रोक्न सरकारले काठमाडौंमा दुई महिनाको निषेधाज्ञा लगाएको छ। विशेषगरी नेपालका कम्युनिष्ट पार्टीहरूको सबैभन्दा ठूलो पाखण्ड भनेको जब उनीहरू सत्तामा हुन्छन्, भारतको साथमा हुन्छन् र जब सत्ताबाट बाहिर हुन्छन्, भारतलाई गाली गर्छन्। उनीहरूलाई लाग्छ कि भारतलाई गाली गर्नु राष्ट्रवाद हो।'

योगीको फोटो खिच्ने प्रदीप विक्रम राणा को हुन् भनेर सोध्दा मिश्रले भने, 'उनी आफूलाई हिन्दूवादी भन्छन्।'

raja546546-1741517820.jpg
आइतबार काठमाडौं जिल्ला प्रशासनले केही स्थानमा निषेधाज्ञा लगाएको छ। सिंहदरबार, नयाँ बानेश्वरलगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको छ।

सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको छ। ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शनजस्ता गतिविधि गर्न पाइने छैन।

२४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै विक्रम सम्वत् २०६३ सालमा नेपालमा प्रजातन्त्र आयो। नेपालको प्रजातन्त्र भर्खर १७ वर्ष पुरानो भएको छ र ११ वटा सरकार परिवर्तन भइसकेका छन्। धेरै मानिसहरूले नेपालको लोकतन्त्रबारे टिप्पणी गर्छन् - नेताहरू सत्ताको जोडघटाउमा निकै छिटो माहिर भइसकेका छन्।

भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायका अनुसार वास्तविक समस्या भनेको नेपालमा लोकतन्त्रले जनताको अपेक्षा पूरा गरिरहेको छैन। उनी भन्छन्, 'यदि नेपालका राजनीतिक दलहरू होसियार भएनन् भने राजतन्त्रप्रति जनताको आकर्षण अझ बढ्नेछ। अहिले स्थिति नियन्त्रणमा छ। तर यदि राजनीतिक दलहरूले यसलाई गम्भीरतापूर्वक लिएनन् भने परिस्थिति नियन्त्रण बाहिर जान सक्छ। म आफैं पनि विश्वास गर्छु कि लोकतन्त्र जुन लक्ष्यका लागि ल्याइएको थियो त्यसबाट टाढा गइसकेको छ।'

भारतको दक्षिणपन्थी राजनीति र नेपालको राजतन्त्र
नेपालको राजनीति भारतबाट प्रभावित भएको छ। नेपालमा धेरै मानिसहरूले यहाँको राजनीति काठमाडौंस्थित भारतीय दूतावासबाट सञ्चालित हुन्छ भनिरहेका पाइन्छन्। भारतको दक्षिणपन्थी राजनीतिको नेपालको राजतन्त्रात्मक व्यवस्थासँग राम्रो सम्बन्ध रहेको छ।

सन् १९६४ मा नेपालका राजा महेन्द्रलाई राष्ट्रिय स्वयंसेवक संघले भारतको नागपुरमा मकर संक्रान्तिको र्‍यालीलाई सम्बोधन गर्न आमन्त्रित गरेको थियो। यो निमन्त्रणा राजा महेन्द्रले स्वीकार गरे। भारतको तत्कालीन कंग्रेस सरकार राजा महेन्द्रको मनोवृत्तिबाट धेरै असहज थियो। त्यतिबेला आरएसएसको कमान्ड गोलवलकरसँग थियो र उनले नै राजा महेन्द्रको आगमनको घोषणा गरेका थिए। आरएसएसको निमन्त्रणा स्वीकार गर्नुअघि राजा महेन्द्रले दिल्ली सरकारलाई सम्पर्क गरेका थिए कि थिएनन् भन्ने कुरा स्पष्ट थिएन।

सन् १९६० को दशकमा नेपालका लागि भारतका राजदूत रहेका श्रीमन नारायण 'भारत र नेपाल: खुला लोकतन्त्रमा एक अभ्यास' पुस्तकमा लेख्छन्, 'राजा महेन्द्रले कंग्रेस सरकारसँगको सम्बन्ध त्यति राम्रो नभएको बेला आरएसएसको निमन्त्रणा स्वीकार गरे। अर्कोतर्फ आरएसएसले नेपाल र त्यहाँका राजालाई हिन्दू अधिराराज्यको रूपमा हेर्‍यो। आरएसएसले नेपाललाई रामराज्यको उदाहरणको रूपमा हेर्‍यो, जुन मुस्लिम शासकहरूको आक्रमणबाट 'अपवित्र' भएको थिएन। आरएसएसको सपनामा नेपाल अविभाजित भारतको एक हिस्सा रहँदै आएको छ।'

प्रशान्त झा नेपालका हुन् र अमेरिकामा हिन्दूस्तान टाइम्सका संवाददाता हुन्। प्रशान्तले आफ्नो पुस्तक 'ब्याटल्स अफ द न्यू रिपब्लिक' मा लेखेका छन्, 'राजा वीरेन्द्र पञ्चायत व्यवस्थाको विरोधमा थिए। त्यतिबेला नै विश्व हिन्दू परिषद् राजा वीरेन्द्रको समर्थनमा काठमाडौंमा परिचालन भएको थियो र उनलाई विश्व हिन्दू सम्राट घोषणा गरिएको थियो। शाही नरसंहारपछि वीएचपीले राजा ज्ञानेन्द्रलाई पनि यही उपाधि दिएको थियो। नेपालको शाह वंशको गोरखपुरको गोरखनाथ मठसँग ऐतिहासिक सम्बन्ध रहेको छ। नेपालमा गोरखनाथ मन्दिरका धेरै सम्पत्तिहरू छन्। यसमा स्कुल र अस्पतालहरू पनि समावेश छन्।'

नेपाल धर्मनिरपेक्ष भएकोमा योगी खुसी थिएनन्
योगी आदित्यनाथ नेपालको धर्मनिरपेक्ष राष्ट्र बन्ने निर्णयबाट खुसी थिएनन्। त्यतिबेला प्रशान्त झाले आदित्यनाथलाई युपीए सरकारको नेपाल नीतिको बारेमा प्रश्न सोध्दा योगीले जवाफ दिएका थिए, 'नेहरूले मात्र भारतलाई बुझेका थिए। नेहरूलाई थाहा थियो कि नेपालमा राजतन्त्र आवश्यक छ। त्यसैले राणा शासनपछि राजालाई सत्तामा ल्याइयो। नेपालमा जे भए पनि हामी त्यसबाट प्रभावित हुन्छौं। राजतन्त्रबाट मात्र नेपालमा शान्ति र स्थायित्व स्थापित हुन सक्छ। नेपालका माओवादीहरू र भारतका नक्सलवादीहरू मिलेर काम गर्छन्। यदि नेपालमा माओवादी सत्तामा आए भने भारतमा नक्सलवादीहरूको मनोबल पनि बढ्नेछ। यदि भाजपा सत्तामा भएको भए यस्तो कहिल्यै हुने थिएन।'

नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रायले आफ्नो पुस्तक 'काठमाडौं डिलेमा रिसेटिङ इन्डिया-नेपाल टाइज' पुस्तकमा लेखेका छन्, 'तुलसी गिरी पञ्चायत व्यवस्थामा नेपालका पहिलो प्रधानमन्त्री थिए र उनी आरएसएसका सदस्य थिए। उनले मलाई भनेका थिए- नेपाललाई हिन्दू राष्ट्र बनाउने विचार उनको हो। तुलसी गिरीको पालामा भारतका हिन्दू संगठनहरू र नेपालको राजदरबारबीच गहिरो सम्बन्ध स्थापित भएको थियो। २०१७ सालको संविधानअन्तर्गत नेपाल हिन्दू राष्ट्र बन्यो । यो काम राजा महेन्द्रले गरेका थिए।

भारतमा जुनसुकै सरकार सत्तामा आए पनि त्यसको प्रभाव नेपालको राजनीतिमा परेको छ। भारतका वामपन्थीहरूको नेपालका वामपन्थी र माओवादीहरूसँग सम्बन्ध रहेको छ। हिन्दूत्व राजनीति सत्तामा आएपछि उनीहरूको प्रभाव अझ बढी छ।

भारतले यो आन्दोलनलाई कसरी हेर्नेछ?
raja-gyanendra-shaaha-king-1741518013.jpg
नेपालमा राजतन्त्रको समर्थनमा भइरहेको आन्दोलनलाई भारतले कसरी लेला? यो प्रश्न डेनमार्कका लागि पूर्व नेपाली राजदूत तथा काठमाडौंस्थित 'सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेडरलिज्म' नामक थिंक ट्यांक चलाउने विजयकान्त कर्णलाई सोधेको थिएँ। कर्णले भने, 'मलाई लाग्दैन कि भारतले नेपालमा राजतन्त्रसँग सम्बन्धित कुनै पनि आन्दोलनलाई समर्थन गर्नेछ। ज्ञानेन्द्रले धेरै पटक दिल्ली भ्रमण गरेका छन् तर प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई कहिल्यै भेटेनन्। ज्ञानेन्द्रले प्रधानमन्त्री मोदीलाई भेट्न धेरै पटक प्रयास गरे तर भेटघाट भएन। ज्ञानेन्द्रले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई अवश्य भेट्छन्। तर त्यो यसकारण पनि हो कि राजपरिवारको गोरखपुरको गोरखनाथ मठसँग ऐतिहासिक सम्बन्ध रहेको छ।'

रवीन्द्र मिश्रलाई मैले सोधें- प्रधानमन्त्री मोदी किन ज्ञानेन्द्रलाई भेट्दैनन्? यसको जवाफमा मिश्र भन्छन्, 'मलाई थाहा छैन भारतको मनमा के छ, तर म निरन्तर तर्क गर्दै आएको छु कि नेपाल गणतन्त्र बन्नुअघि भारतसँग बढी विश्वासिलो सम्बन्ध थियो। विवाह पञ्चमीमा बिहेको जन्ती नेपालको जनकपुरमा रहेको जानकी मन्दिरमा भारतकै राम मन्दिरबाट आउँछ। अब यो जन्ती अयोध्याबाट पनि आउन थालेको छ। यो जन्ती अब स्थानीयदेखि अन्तर्राष्ट्रियसम्म पुगेको छ र उत्तिकै राजनीतिक पनि बनिरहेको छ। २०७४ सालमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आफैं विवाहको जन्ती लिएर जनकपुर आइपुगेका थिए।

-बीबीसी हिन्दीमा रजनीश कुमारले लेखेको आलेखको भावानुवाद

प्रकाशित: Mar 12, 2025| 13:09 बुधबार, फागुन २८, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्