नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्था नचाहनेहरू आगोमा रोटी सेक्नतर्फ लागेको बताएका छन्।
कैलालीको धनगढीमा भइरहेको कांग्रेसको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले भने, 'अहिलेको व्यवस्था कहिल्यै पनि नचाहेकाहरू अहिले रोटी सेक्नेतर्फ लागेका छन्। तर, नेपाली कांग्रेस त्यसतर्फ नलागेर आम नागरिकमा देखिएको आक्रोशको आगो निभाउनेतर्फ लाग्नेछ।’
व्यवस्था बदल्न साथ दिएका आम नागरिकमा अवस्था परिवर्तन नहुँदा असन्तुष्टि बढेको महामन्त्री थापाले स्वीकार गरे। त्यो अवस्था कांग्रेसको नेतृत्वमा बनेको संविधानकै अधिनमा रहेर बदल्ने उनको दाबी छ।
कांग्रेसले लोकतान्त्रिक व्यवस्थाको विकल्प नखोज्ने पनि थापाले बताए। उनले भने, ‘अहिले एमालेको नेतृत्वमा सरकार छ। केही समयपछि कांग्रेस सभापतिको नेतृत्वमा सरकार बन्छ। त्यो अवसरलाई प्रयोग गरेर नागरिकका वाचा पूरा गर्नतर्फ लाग्नुपर्छ। नागरिकको अवस्था बदल्न हामीले लाग्नुपर्छ।’