काठमाडौं- साउने सोमबारको अन्तिम दिन पशुपति क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। कोरोना संक्रमण जोखिमका कारण मुख्य मन्दिर बन्द गरिएको भए पनि पशुपतिनाथ क्षेत्रमा भक्तजनको बाक्लो चहलपहल छ।
उनीहरूले बाहिरै रहेका मन्दिरहरूमा दर्शन गरिरहेका छन्। भक्तजन भन्छन्, 'कोरोनाको त्रास छ त्यो भन्दा बढी भगवानसँग आस छ।'
साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालु भक्तहरूले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्ने गरेका छन्।
साउन महिना भगवान् शिवको प्रिय महिनाका रूपमा लिइन्छ। त्यसमा पनि सोमबारलाई विशेष मानिन्छ। भक्तहरू यो दिन व्रत, पूजापाठ, दान आदि गरी शिवाराधना गर्ने गर्छन्।
तर, यसपालि कोरोना संक्रमण फैलिन नदिन मठमन्दिरलगायत मानिसहरूको भीडभाड हुने सबै स्थानहरू बन्द राख्ने सरकारको निर्णय अनुसार सबैजसो मन्दिरहरू बन्द छन्।