मंगलबार, साउन २६, २०८३

तिमाङको जंगलमा लागेको आगो अझै निभाउन सकिएन

 |  मंगलबार, माघ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २२, २०८१

मनाङ- मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन। चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए। उनका अनुसार आगो निभाउने प्रयास जारी छ। 

'आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। स्थानीयसहित टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौं। आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन छन्,' प्रजिअ आचार्यले भने,  'भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो।' अन्यत्र आगो नफैलियोस् भनेर सुरक्षित गर्ने काम गरिसकेको र बस्तीमा त्यति जोखिम नरहेको उनको भनाइ छ। 
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले यो समय सुक्खायाम भएकाले पनि आगो नियन्त्रण लिन नसकिएको बताए। 

सल्लाको काठ, पातपतिङ्गरले गर्दा आगो बढ्नसक्ने डर पनि रहेको भुजेलले बताए। उनका अनुसार वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटीसमेत आगलागीले नष्ट हुने जोखिम बढेको छ।

विसं २०७७ मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो। जसले मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो। 

प्रकाशित: Feb 04, 2025| 08:20 मंगलबार, माघ २२, २०८१
प्रतिक्रिया दिनुहोस्