आइतबार, पुस ६, २०८२

काठेपुल मुक्त बन्यो हल्दिबारी

 |  बुधबार, माघ १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ १६, २०८१

झापा- हल्दिबारी गाउँपालिकाले विगत ६ वर्षमा स्थानीय काठेपुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ। विसं २०७५ मा गाउँपालिकाले ‘काठेपुल मुक्त अभियान’ सुरु गरेको थियो।

National life

अभियानले सफलता पाएसँगै हल्दिबारीका सबै पुलपुलेसा पक्की बनेका हुन्। पालिकाका भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर संकल्प खनालले वि.सं. २०७५ यता १०० वटा पक्की पुल निर्माण भएको बताए। उनले भुतेनी र भुसुडी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेको जनाउँदै अरु खोला खोल्साको पुल सञ्चालनमा आइसकेको जानकारी दिए।

पालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले अब हल्दिबारीमा ज्यानको जोखिम मोलेर काठको पुल तर्नुपर्ने वर्षौँदेखिको बाध्यता हटेको बताए। 'पहिलोपल्ट पालिकाको अध्यक्षमा निर्वाचित हुँदा हल्दिबारीका सबै पुल कच्ची र काठबाट निर्मित थिए,' उनी भन्छन्, 'पुल पार गर्दा काठ भाँचिएला कि भन्ने डर हुने र बाढीले बगाउला कि भन्ने त्रास बोक्नुपर्ने अवस्था थियो।'

अध्यक्ष लिङ्देनले नै वि.सं. २०७५ मा ‘काठेपुल मुक्त अभियान’ घोषणा गरेका थिए। पालिकाले प्राथमिकतापूर्वक आवश्यक बजेट विनियोजन गरेपछि धमाधम काठेपुल हटाएर पक्की पुल बनाउन थालिएको थियो।

पाँचवटा वडा रहेको हल्दिबारीमा ३३ हजार जनसंख्या छ। सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य सुविधाका लागि पालिकाले उच्च प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएको अध्यक्ष लिङ्देन बताउँछन्।

Laxmi sunrise bank
kumari

एकसय वटा पक्की पुल निर्माण गर्न १० करोड रूपैयाँ खर्च भएको भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर खनालले बताए। यसैवर्षको फागुन ३० गतेसम्ममा भुतेनी र भुसुडी खोलाको निर्माणाधीन पुलको कार्य सम्पन्न भइसक्ने उनले जानकारी दिए।

पालिकाले पुल र सडक निर्माणमा आन्तरिक स्रोतको परिचालन गर्दै आएको जनाएको छ। विगत ६ वर्षमा हल्दिबारीमा आन्तरिक स्रोतबाटै ३५ किमी सडक कालोपत्रे भइसकेको छ भने पाँच किमी कालोपत्रे निर्माणको चरणमा रहेको खनालले बताए। रासस

प्रकाशित: Jan 29, 2025| 17:31 बुधबार, माघ १६, २०८१
प्रतिक्रिया दिनुहोस्