बुधबार, माघ २३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गाजाबाट प्यालेस्टिनीलाई हटाउन चाहन्छन् ट्रम्प

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

ntc landingntc landing

मियामी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजालाई खाली गर्ने योजना अघि सारेका छन्। मध्यपूर्वमा शान्ति स्थापनाका लागि इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई त्यहाँबाट हटाउनु उचित भएको बताएका हुन्।

himalayan bank box

इजरायल–हमास युद्धपछि गाजालाई ‘विध्वंसस्थल’ को संज्ञा दिँदै ट्रम्पले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग यस विषयमा कुरा भएको र आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग कुरा गर्ने योजना रहेको बताए।

‘इजिप्टले गाजामा रहेका आफ्ना मानिसहरूलाई लिएर जाओस् र जोर्डनले पनि त्यसै गरोस् भन्ने म चाहन्छु,’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँगको कुराकानीमा भने।

‘तपाईं शायद १५ लाख मानिसहरूको बारेमा चिन्ता व्यक्त गर्दै हुनुहुन्छ, र हामी त्यो सबै खाली गर्न चाहन्छौँ। तपाईंलाई थाहा छ, शताब्दियौंदेखि यो स्थानमा धेरै सङ्घर्षहरू थिए। मलाई थाहा छैन तर त्यहाँ केही हुनुपर्छ,’ उनले भने।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन्।

ट्रम्पले गाजाका बासिन्दालाई स्थानान्तरण गर्नु ‘अस्थायी वा दीर्घकालीन पनि’ हुन सक्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पले भने, ‘यो वास्तवमै अहिले भत्काइने ठाउँ हो, लगभग सबै ध्वस्त भएको छ र मानिसहरू त्यहाँ मरिरहेका छन्।’

‘त्यसैले म बरु केही अरब राष्ट्रहरूसँग वार्ता गर्न चाहन्छु र फरक स्थानमा आवास निर्माण गर्न चाहन्छु जहाँ उनीहरू परिवर्तनसँगै शान्तिसाथ बस्न सकून्,’ उनले थपे।

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनको अन्तिम दिन इजरायल र हमासबीच भएको युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता दोस्रो हप्तामा प्रवेश गरेको बेला शनिबार उनको उक्त भनाइ आएको हो।

ट्रम्प प्रशासनले इजरायललाई ‘अटूट समर्थन’ गर्ने वचन दिएको छ तर मध्यपूर्व नीतिको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।

राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती बाइडेनले रोकेको इजरायलका लागि दुई हजार पाउण्ड बराबरको बम पठाउन पेन्टागनलाई आदेश दिएको शनिबार पुष्टि गरेका छन्।

‘हामीले त्यसलाई छोडिदियौँ। हामीले त्यसलाई आज पठाएका छौँ,’ ट्रम्पले इजरायलले माग गरेका र पूर्ववर्ती सरकारले रोकेका विष्फोटक पदार्थ इजरायलतर्फ पठाइएको पुष्टि गर्दै भने।

उनले भने, ‘उनीहरूले त्यस (विष्फोटक पदार्थ)का लागि पैसा तिरी लामो समयदेखि पर्खिरहेका छन्।’

सन् २०२३ को अक्टोबरमा प्यालेष्टिनी इस्लामी समूह (हमास)ले इजरायलमाथि गरेको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक आक्रमणले प्यालेष्टिनी भूभागको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ र पूर्वाधारहरू ध्वस्त भएका छन्। संयुक्त राष्ट्रसङ्घले पुनर्निर्माणमा धेरै वर्ष लाग्ने अनुमान गरेको छ। रासस/एएफपी

प्रकाशित: Jan 26, 2025| 18:01 आइतबार, माघ १३, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्