रामपुर – पाल्पाको एक विद्यालयमा जन्मदिनका अवसरमा चक्लेट बाड्न निषेध गरिएको छ। रामपुर वडा नं. १० रामटारस्थित जङ्क फूड (पत्रु खाना) निषेध गरिएको जनकल्याण माध्यामिक विद्यालयमा जन्मदिनमा चकलेट दिने विद्यार्थीलाई कारवाही गरिने प्रधानाध्यापक आनन्दप्रसाद भण्डारीले बताए।
विद्यालयको वातावरणीय र पर्यावरणीय सुधार तथा स्वास्थ्य शिक्षासम्बन्धी चेतना जगाउन यस्तो निर्णय भएको विद्यालयले जनाएको छ। विद्यालयमा युवराज श्रेष्ठ अध्यक्ष रहेको ‘इको क्लब’ गठन गरेर घरमै तयार पारेका खाजा विद्यार्थीलाई प्रयोग गराउन तथा पत्रु खानाको प्रयोग रोक्ने निर्णय भएको छ।
बजारमा पाइने विभिन्न खानेकुराले विद्यार्थीको स्वास्थ्यमा असर गर्ने र पढाइमा समेत प्रभाव पार्ने भएपछि अब जन्मदिनको अवसरमा चकलेट वितरण नगरी शुभकामना आदानप्रदान मात्र गरिने शिक्षक दामोदर तिमिल्सिनाले जानकारी दिएका छन्। पत्रु खाना लैजान नपाइने भएपछि विद्यार्थीले घरमै तयार पारेका रोटी, मकै, भटमासलगायतका खाजा झोलामा बोकेर स्कुलमा आउने गर्दछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४