काठमाडौं – विभिन्न वित्तीय कसुरउपर ३६ अर्ब ५३ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) द्वारा गरिएको वित्तीय क्षेत्रको ठगी अनुसन्धानबाट उक्त रकम मागदाबी गरिएको हो।
सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीले सबैभन्दा बढी बैंकिङ कसुरबापत बिगो माग दाबी गरिएको जानकारी दिए।
उनका अनुसार बैंकिङ ठगी ठूलो रकमको हुने भएकाले पनि विगो बढी भएको हो। बैंकिङ कसुरमै २०७ मुद्दामा कारबाही भएका छन् भने २२५ जना पक्राउ परेका छन्।
‘बैंकिङ ठगीको रकम ठूलो हुने गरेको छ,’ उनले भने, ‘थप केही बैंकहरुको अध्ययन भइरहेको छ। बिगो दाबीसमेत जोड्न बाँकी छ।’ उनका अनुसार पछिल्लो ठगी काण्ड भएको किस्ट र राष्ट्रिय वाणिज्य बैंकको रकम यसमा समावेश छैन।
बैंक कर्मचारीकै मिलेमतोमा ठगी हुने गरेको पाइएको उनले बताए। उनले भने, ‘जति पनि बैंकिङ कसुरका घटना छन्, तिनमा बैंकका कर्मचारीको मिलेमतो भएकै हुन्छ।’
कल बाइपास (भिओआइपी) प्रकरणमा ३३.१८ अर्थात् १२ अर्ब १२ करोड रुपैयाँ माग दाबी गरिएको छ। अवैध कलबाइपास गर्ने १६४ जना पक्राउ परेका छन्। यस क्रममा विभिन्न कम्पनीका २२ हजार ९७९ सिम कार्ड बरामद गरिएको प्रवक्ता चतुर्वेदीले जानकारी दिए। अन्तर्राष्ट्रिय आगमन कल अनधिकृत रुपमा बाइपास गर्दा अर्बौं राजस्व गुमेको छ।
सम्पति शुद्धीकरणअन्तर्गत नौ जनामाथि कारबाही भएको छ। यस क्रममा ३६ जना पक्राउ परेका छन्। उनीहरूबाट एक अर्ब १८ करोड माग दाबी गरिएको सिआइबीले जनाएको छ।
त्यस्तै युनिटी, ठगी, बिमा, ढुकटी, हर्बो, जाली नोट, नागरिकता/राहदानी ऐनलगायत धन्दामा एक अर्ब ५२ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ। यी घटनामा २७ जनामाथि कारबाही भएको छ। यस्तै एक सय १९ जना पक्राउ परेका छन्।
नेपाल राष्ट्र बैंक ऐन–०५८ अन्तर्गतको कसुरअनुसार पाँच करोड ३९ लाख, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन–०७३ बाट २३ करोड ७४ लाख बिगो माग दाबी गरिएको छ।
सिआइबीले वित्तीय अनुसन्धानका रूपमा नेटवर्किङ हर्बो, जाली नोट, ठगी, भिसा कार्ड फ्रड, एटिएम कसुरलगायत वित्तीय ठगी अनुसन्धान गर्दै आएको छ। त्यस्तै पछिल्लो समय बढी मात्रामा ठगी हुने गरेको हुन्डी, विट क्विनलगायत बैंकिङ कसुरलाई सिआइबीले हेर्न पाउनुपर्ने मागसमेत उठेको छ। अहिले त्यस्ता ठगी राजस्व अनुसन्धान विभागले हेर्दै आएको छ।
प्रवक्ता चतुर्वेदीका अनुसार पछिल्लो समय झनै नयाँ किसिमको वित्तीय ठगी बढेको छ। स्विफ्ट ह्याक, योजनाबद्ध हुलाकमा हुने गरेको ठगी, विटक्विन, एटिएम ठगीलाई लिन सकिने उनको भनाइ छ। ‘यसका लागि सरकारी संयन्त्रमा झनै चुनौती थपिएको छ,’ उनले भने। ठगी धन्दामा हालसम्ममा सिआइबीले ३५९ वटा मुद्दा दायर गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४