शनिबार, पुस १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आर्थिक उदारीकरणका शिल्पकार सिंह

 |  शुक्रबार, पुस १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १२, २०८१

ntc landingntc landing

काठमाडौं- भारतका पूर्वप्रधानमन्त्री तथा दिग्गज कंग्रेस नेता मनमोहन सिंहको बिहीबार नयाँ दिल्लीमा निधन भएको छ। उनी ९३ वर्षका थिए र लामो समयदेखि बिरामी थिए।

himalayan bank box

प्रख्यात अर्थशास्त्री र राजनीतिज्ञ सिंहलाई उनको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ दिल्लीस्थित एम्समा भर्ना गरिएको थियो। सिंह स्वास्थ्यका कारण हालैका वर्षहरूमा राजनीतिबाट टाढा रहेका थिए।

सन् २०२४ सुरुदेखि नै उनको स्वास्थ्य राम्रो थिएन। उनको अन्तिम सार्वजनिक उपस्थिति जनवरी २०२४ मा उनकी छोरीको पुस्तक विमोचनमा भएको थियो।

उनी अप्रिल २०२४ मा राज्यसभाबाट सेवानिवृत्त भएका थिए। सन् २००४ देखि २०१४ सम्म काङ्ग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) अन्तर्गत गठबन्धन सरकारको नेतृत्व गर्दै मनमोहन सिंह लगातार दुई कार्यकाल प्रधानमन्त्री बनेका थिए।

सिंहको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक घोषणा गरेको छ। आजका लागि तय भएका सम्पूर्ण सरकारी समारोह रद्द गरिएका छन्। उनको अन्तिम संस्कार शनिबार राजकीय सम्मानका साथ गरिने भएको छ। थुप्रै राज्य सरकारहरुले पनि सिंहको निधनमा शोक घोषणा गरेका छन्।

vianet

मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एक गाउँमा भएको थियो। उनले क्याम्ब्रिजबाट मास्टर्स र अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गरेका थिए।

सिंह भारतमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहनेमध्येका एक हुन्। उनलाई भारतीय आर्थिक उदारीकरणका मुख्य शिल्पकार मानिन्छ। सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको रूपमा र त्यसअघि अर्थमन्त्री रहँदा उनले आर्थिक सुधारका काम गरेका थिए।

सिंहलाई भारतको 'अनपेक्षित प्रधानमन्त्री' अर्थात् एक्सिडेन्टल प्राइममिनिस्टरका रूपमा समेत हेर्ने गरिन्छ। जवाहरलाल नेहरुपछि पहिलो कार्यकाल पूर्ण रूपमा पूरा गर्दै पुनः प्रधानमन्त्रीमा निर्वाचित हुने सिंह पहिलो भारतीय नेता थिए। साथै भारतको शीर्ष पद धारण गर्ने पहिलो सिखसमेत सिंह थिए। उनले सन् १९८४ मा झन्डै तीन हजारको संख्यामा सिखहरू मारिएको घटनाप्रति संसद्‍मा सार्वजनिक रूपमा माफी मागेका थिए।

सन् २००४ मा तत्कालीन कंग्रेस अध्यक्ष सोनिया गान्धीले प्रधानमन्त्री बन्न अस्वीकार गरेपछि मनमोहन सिंह प्रधानमन्त्री बनेका थिए। त्यसबेला सोनिया गान्धीको विदेशी मूलबारे प्रश्नहरू उठेका थिए। मनमोहन सिंहलाई प्रधानमन्त्री बनाए पनि वास्तविक शक्ति सोनिया गान्धीको हातमा रहेको थियो भनेर टिप्पणी गरिन्छ।

आफ्नो दोस्रो कार्यकाल सम्हाल्दा भने सरकारप्रति व्यापक रूपमा भ्रष्टाचारका आरोपहरू लागेको थियो। धेरैले सन् २०१४ को आम निर्वाचनमा उनको पार्टी कंग्रेस पराजित हुनुको आंशिक कारणका रूपमा त्यसबेला देखा परेका घोटाला प्रकरणलाई जिम्मेवार मान्ने गर्छन्।

सन् १९९१ मा सिंह भारतको अर्थमन्त्री बने। त्यसपछि उनी भारतको राजनीतिक वृत्तमा प्रस्टसँग देखा परेका हुन्। त्यसबेला देश आर्थिक रूपमा ऋण तिर्न नसक्ने अवस्थामा पुग्न लागेको थियो। उनको नियुक्तिले देशका एउटा आशा जगाएको थियो।

त्यसअघि उनी भारत सरकारको आर्थिक सल्लाहकार र त्यहाँको केन्द्रीय बैंकको गभर्नर बनिसकेका थिए। संसद्‍मा आफ्नो पहिलो मन्तव्यका क्रममा अर्थमन्त्री सिंहले भिक्टर ह्यूगोलाई उद्धृत गर्दै भनेका थिए, 'जसको विचारको समय आएको छ, त्यसलाई पृथ्वीको कुनै शक्तिले रोक्न सक्दैन।' त्यो मन्तव्यलाई उनको महत्वाकांक्षी र अभूतपूर्व आर्थिक सुधार कार्यक्रमको सुरुवाती विन्दु मानिन्छ।

उनले कर कटौती, रुपैयाँको अवमूल्यन, राज्यद्वारा सञ्चालित कम्पनीहरूको निजीकरण र विदेशी लगानीलाई प्रोत्साहन गर्ने काम गरे। यसका कारण अर्थतन्त्रमा सुधार देखा पर्दै उद्योगहरूको तीव्र वृद्धि भयो। बढ्दो मुद्रास्फीति नियन्त्रण भएर सन् १९९० को दशकमा आर्थिक वृद्धिदर निरन्तर उच्च रह्यो।

सिंहले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिएका थिए।

यसैबीच, भारतीय प्रधानमन्त्री मोदीलगायतका सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उनलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन्।

प्रधानमन्त्री मोदीले सिंहको निधनको खबरले आफुलाई दुखी तुल्याएको बताएका छन्। उनले भनेका छन्, 'भारतले आफ्ना एक सम्मानित नेता डा मनमोहन सिंहजीलाई गुमाएको छ। नम्र पृष्ठभूमिबाट उठेर उहाँले एक सम्मानित अर्थशास्त्रीको रूपमा आफ्नो पहिचान बनाउनुएको थियो। उहाँले अर्थमन्त्रीलगायत सरकारका धेरै महत्वपूर्ण पदमा रहेर काम गर्नुभएको थियो। उहाँ हाम्रो आर्थिक नीतिमा गहिरो छाप छोड्नुभएको छ। संसद्मा उहाँको विचारशील हस्तक्षेप सधैं अविस्मरणीय रह्यो। प्रधानमन्त्रीका रूपमा उहाँले जनताको जीवनस्तर उकास्न अथाह प्रयास गर्नुभयो।'

कांग्रेस नेता राहुल गान्धीले पनि दिवंगत नेताप्रति श्रद्धाञ्जलि दिँदै शोक सन्तप्त परिवारजनमा समवेदना दिएका छन्। उनले भनेका छन्, 'मनमोहन सिंहजीले ठूलो बुद्धि र निष्ठाका साथ भारतको नेतृत्व गर्नुभयो। उहाँको नम्रता र अर्थशास्त्रको गहिरो ज्ञानले सम्पूर्ण राष्ट्रलाई प्रेरित गर्यो।'

प्रकाशित: Dec 27, 2024| 10:35 शुक्रबार, पुस १२, २०८१
प्रतिक्रिया दिनुहोस्