पोखरा - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसलाई ट्रयाकमा ल्याएर आफू आउट हुने बताएका छन्।
कांग्रेस वडा समितिले सराङकोटले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले नेपाली कांग्रेस अहिले कमजोर भएको उल्लेख गर्दै भने, 'नेपाली कांग्रेसलाई मजबुत बनाएर म राजनीतिबाट अलग हुन्छु।'
उनले कांग्रेसलाई कमजोर बनाउने एकमात्र शक्ति कांग्रेस नै भएको उल्लेख गर्दै नेता पौडेलले भने, ' अब कांग्रेस कार्यकर्ताले देउवा कांग्रेस वा पौडेल कांग्रेस भनेर होइन नेपाली कांग्रेस भएर काम र संगठन विस्तारमा लाग्नु पर्छ।' उनले कांग्रेसमा कुनै गुट नरहेको उल्लेख गर्दै नेपाली कांग्रेसको झन्डामुनी बसेर कांग्रेसलाई बलियो बनाउन लागि पर्न कार्यकर्तालाई निर्देशन दिए।
मुलुकमा वाम एकतापछि भ्रष्टाचार र अपराध बढेको उल्लेख गर्दै नेता पौडेलले कम्युनिस्टहरुले मुलुको हित गर्न नसक्ने बताए। उनले भने, 'कम्युनिस्टहरु झुट, स्वार्थी हुन्छन् भन्ने ओली सरकारले प्रमाणित गरिसकेको छ। यसका विरुद्ध नेपाली कांग्रेस एक भएर अघि बढ्ने आवश्यक छ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४