बुधबार, साउन १३, २०८३

बर्थ डे: हाम्रो संस्कृति कि फेसन !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बिहानैदेखि घरमा विशेष चहलपहल छ। गोलमढी भक्तपुरकी क्रिस्टिना सुवालको जन्मदिन। उनी दुई वर्षकी भइन्। मामा, माइजु, फुपू फुपाजु, दिदी, दाजुलगायत नजिकका सबै नातेदार भेला भएका छन्। क्रिस्टिना सुवाललाई बुबाले काखमा लिनुभएको छ। अगाडि बेसारको पात, सुकुन्दा अनि पूजाको थाली छ। सँगै अण्डा, दही, रक्सी र नयाँ कपडा छन्। 

परिवार र आफन्तले क्रिस्टिनालाई पालैपालो टीका लगाइदिन्छन्। उनको गलामा एउटा अनौठो माला छ : योमरी र मुटुमरीबाट तयार पारिएको माला। यही मालामा रहेको योमरी प्रसादका रुपमा खाने चलन छ। क्रिस्टिनाको जन्मदिन मनाउन आएका पाहुनाका लागि भोज तयारी अवस्थामा राखिएको छ। पहिलेपहिले अहिलेका जस्ता विभिन्न परिकार पाइँदैनथे। त्यतिबेला ‘योमरी’ नै मिठो मानिन्थ्यो। यसैले जन्मदिनमा योमरी दिई खुसी बाँडिन्थ्यो। 

यो त नेवारी समुदायको जन्मोत्सव मनाउने कला भयो। नेपाली समाजका अन्य जातजातिमा जन्मोत्सवको दिन बिहान मन्दिर जाने र भिक्षुलाई दान दिने चलन छ। 
कतिपय समुदायमा अष्टचिरञ्जीवीको पूजा गरेर वर्ष वृद्धि उत्सव मनाइन्छ। यसरी जन्मोत्सव मनाउँदा तिथिलाई आधार बनाइन्छ। पुराणमा वर्णित आठ चिरञ्जीवी क्रमशः मार्कण्डेय, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम, अश्वत्थामाको पूजा गरे प्रसाद खाने चलन सनातन धर्म मान्नेहरुमा छ। यस्तै कतिपयले साधुसन्तलाई दान दिएर र विपन्नलाई खानेकुरा दिएर पनि जन्मोत्सव मनाउँछन्।

सँगसँगै हरेक जातजातिमा केक काटेर जन्मोत्सव मनाउन थालिएको छ। साना नानी पनि जन्मदिनमा केक काट्न रुचाउँछन्। ‘जन्मदिन’ अनि ‘केक’ पर्याय बनेको छ। आफन्तहरुलाई बोलाउने, घरमा मिठा खानेकुरा बनाउने र साँझपख केक काटेर जन्मोत्सव मनाउने चलन धेरै समुदायमा पाइन्छ। सहरी क्षेत्रका कतिपय बैंकहरुले आफ्ना बालबचतकर्ता ग्राहकलाई जन्मोत्सवका दिन केक उपहार दिन थालेका छन्।

जन्मदिनमा मात्र होइन, विवाहको वार्षिकी, पदोन्नति हुँदा, कुनै नयाँ कामको थालनी भएमा पनि केक काट्न थालिएको छ नेपाली समाजमा। यस्ता केक खानु स्वास्थ्यमा कस्तो असर गर्छ भन्नेमा हामी सचेत हुनुपर्छ।

संस्कृतविद् विनोदराज शर्माका अनुसार विदेशी संस्कृति आत्मसात् गर्नु नराम्रो होइन तर, नेपाली संस्कृतिलाई बेवास्ता गर्नुचाहिँ नराम्रो हो। उनले भने, ‘विदेशी संस्कृति मान्दै गएमा एक दिन नेपाली संस्कृति लोप हुनेछ।’

ताजा बेकरी उद्योगका रामकुमार श्रेष्ठ भने संस्कृतिको सवालमा केकसँग जोड्न नमिल्ने बताउँछन्। उनले भने, ‘केकले संस्कृतिमा असर गरेको छैन ।’ केक खाँदा ध्यान पु¥याएमा स्वास्थ्यमा असर नहुने उनको दाबी छ। उनले जन्मोत्सव, विवाहको वार्षिकोत्सव आदिमा केकको अर्डर बढी आउने बताए। 

समाजशास्त्री पुष्पराज राई नेपाली समाजमा विदेशी संस्कृति हाबी हुँदै गएको बताउँछन्। पश्चिमा मुलुकहरूको पावर र पोसेसनकै कारण विदेशी संस्कृति भित्रिएको उनको भनाइ छ। उनले भने, ‘जन्मदिन मनाउनु नराम्रो होइन, न त केक काटेर सेलिब्रेट गर्नु नै। आफ्नो पराम्परा छोड्न हुँदैन।’ उनले नेपाली समाजमा मनाइने हरेक चाडपर्वमा मिश्रित संस्कृतिको प्रभाव पर्दै गएको बताए। उनले विभिन्न संस्कृतिको मिश्रण हुँदा आफ्नो मौलिक संस्कृति गुम्ने खतरा रहेको औंल्याए।

जन्मोत्सव मानसिक उपचार  

वरिष्ठ संस्कृतिविद् विनोदराज शर्माका अनुसार जन्मोत्सव मनाउनु एक प्रकारको मानसिक उपचार हो। उमेर बढ्दै जाँदा मानिस मृत्यु नजिक हुँदै जान्छ। मृत्यु स्वाभाविक हो। तर मृत्युबारे मानिस सोच्न पनि चाहँदैन। मानिस कोही पनि मर्न चाहँदैन। शर्माले भने, ‘यस्ता उत्सवले व्यक्तिको मन मृत्युतर्फ नभई अझै केही गरौं भन्ने सकारात्मक सोचाइतर्फ अग्रसर हुन्छ। त्यसैले जन्मोत्सव मानसिक उपचार हो।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।