शुक्रबार, पुस ४, २०८२

सावरसुप खेतीमा रेलमार्ग छिरेपछि...

 |  मंगलबार, पुस ९, २०८१

गोपाल काफ्ले

गोपाल काफ्ले

मंगलबार, पुस ९, २०८१

मोरङको पथरी शनिश्चरे-१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुप खेती सुरु गरेका थिए। तर,  नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि अहिले उनी खेती गर्ने कि नगर्ने दोधारमा परेका छन्। 

National life

स्वदेशमा कृषि कर्ममार्फत राज्यलाई सहयोग गर्ने उद्देश्य बोकेर फर्किएका पूर्वभारतीय सेना सुब्बा रेल्वेको ट्र्याकले फार्ममा परेपछि खेतीको विकल्पबारे अन्योलमा परेका हुन्। 

नेपालमा फरक तथा नौलो खेती सुरु गरेका सुब्बाले सावरसुप ‘एन्टी क्यान्सर’ का रूपमा चिनिने वनस्पति भएको बताए। आफूले फार्म सञ्चालन गर्दै आएको एक बिघा जमिनमा रेलमार्ग छिरेपछि निराशा र अन्योल दुबैले घेरेको उनले बताए। 

रेलमार्ग फार्ममा परेपछि सबै बैंकिङ प्रक्रिया बन्द भएको बताउँदै उनले पाँच वर्ष पहिले बैंकबाट ऋण लिएर १० कट्ठा जग्गामा फार्म सञ्चालन गरेको जानकारी दिए। ‘अहिले फार्मअन्तर्गको जमिन रेलमार्ग परेपछि फार्म रुग्ण भएको छ। अहिले पूर्व काँकडभिट्टाबाट पश्चिम कञ्चनपुरसम्म रेलमार्गको काम भएको छैन, जग्गा फुकुवा पनि भएको छैन’, उनी भन्छन्, ‘यसले गर्दा खेतीको विकल्प वा व्यवस्थापन कसरी गर्ने अन्योलता छाएको छ।’ 

सुब्बाले छ वर्षअघि कुखुरा, माछा, सुँगुर, काजु, फलफूल र अर्गानिक सागसब्जी उत्पादन सुरु गरेका थिए। अठार वर्षको कलिलो उमेरमा भारतीय सेनामा भर्ती भएका सुब्बालाई १८ वर्षपछि स्वदेशमा कृषि कर्म गर्ने रहर लागेपछि स्वदेश फर्किए। भारतीय सेनामा हुँदा भएको आम्दानी र सीपबाट आफूलाई कृषिमा लाग्न प्रेरणा मिलेको उनले बताए।  

Laxmi sunrise bank
kumari

अमेरिकाबाट एक हजार दुई सय डलरमा बीउ मगाएको जनाउँदै सुब्बाले सुरुमा ४५ वटा बिरुवा उमारेको बताए। दश कट्ठा जमिनमा सुरु गरेको खेती अहिले एक बिघामा फैलिएको उनको भनाइ छ। सावरसुपको फल प्रतिकिलो दुई हजार दुई सयसम्ममा नेपाली बजारमा बिक्री हुँदै आएको उनले उल्लेख गरे।  

व्यावसायिक खेती गर्ने उद्देश्यले अमेरिकाबाट दाना बीउ ल्याई लगाएको बिरुवाले उत्पादन दिन सुरु गरेको सुब्बाले जानकारी दिए।  फार्ममा रेल्वेको ट्र्याक परेपछि आफ्नो सपना अधुरै रहने हो कि भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ। आफ्नो उर्भर जीवन भारतीय सेनामा वितेको र अब सबथोक भनेकै फार्म भएको उनी बताउँछन्। 

सुब्बाले गरेको खेती नेपालमा नौलो र फरक किसिमको कृषिजन्य वनस्पति हो। ‘एन्टी क्यान्सर’ बिरुवाका रूपमा चिनिएको उक्त वनस्पतिलाई विदेशमा बढी उपयोग गरिन्छ। नेपालमा यसको महत्वबारे थाहा नभएकाले सुब्बाले यसको महत्व बुझाउन पनि व्यावसायिक खेती सुरु गरेको बताए। 

भारतीय सेनामा रहँदा अफ्रिका गएका बेला उनले देखेको सावर सुपको विरुवा अहिले आफ्नो बारीमा हुर्काइरहेका छन्। यसको पात र फल खानाले विभिन्न रोग प्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ। पछिल्लो समय यसको फल क्यान्सरका बिरामीले रोकथामका लागि खाने गरेका बताउँदै सुब्बाले यसका बारेमा जानकारीमूलक प्रचारप्रसार गर्नुपर्ने धारणा राखे। रासस

प्रकाशित: Dec 24, 2024| 10:31 मंगलबार, पुस ९, २०८१
प्रतिक्रिया दिनुहोस्