काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण गर्न र फ्लड लाइट जडान गर्न टेण्डर आह्वान भएको छ।
शुक्रबार शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि टेण्डर आह्वान गरेको हो।
फ्लड लाइटका लागि १ करोड ७३ लाख र प्यारापिट निर्माणका लागि १ करोड ६२ लाख बजेट तोकिएको छ। दुवै परियोजनाका लागि टेण्डर भर्न २० हजार शुल्क तोकिएको छ।
आगामी माघ ६ गतेसम्म टेण्डर पेस गर्न सकिने कार्यालयले जनाएको छ। टेण्डर सोही दिन साढे १ बजे खोलिनेछ। फ्लडलाइट जडानका लागि यसअघि दुई पटक टेण्डर आह्वान गरिएकोमा दुवैपटक रद्द भएका थिए।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले टीयू क्रिकेट रंगशालामा फ्लड लाइट र प्यारापिट निर्माणको काम निर्धारित समयमै सक्ने प्रतिबद्धता जनाएका छन्। आज बोलपत्र आह्वान भएपछि तीन सिफ्टमा फटाफट काम गरेर निर्धारित समयमै सम्पन्न गर्ने उनले बताए।
‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो। क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौं। यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्कासहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गर्यौं । त्यसबेला क्यानका पदाधिकारीहरुले पनि बरु अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौं, हतार नगरौं भन्ने सल्लाह दिनुभएको थियो,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्। जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लागेको उनले उल्लेख गरेका छन् ।
उनले थपेका छन्, ‘त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो । आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ । अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्नेछ । यसलाई विश्वस्तरको बनाउने प्लान भने त्यसपछि पनि जारी रहनेछ ।’ प्रधानमन्त्री ओलीले काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई आग्रह समेत गरेका छन् ।