बिहीबार, पुस ३, २०८२

कालोपत्रे सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

 |  बिहीबार, पुस ४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ४, २०८१

नवलपरासी- सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्रे सडकले जोडिएसँगै सुगम बनेको छ। यहाँको विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्र सडकले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ।

National life

गाउँपालिका अध्यक्ष घनश्याम गिरीले दशकौँदेखिको सडक समस्या समाधान भएसँगै अन्य गतिविधि पनि बढ्न थालेको बताए। “गाउँपालिकाले दुम्किबास–डाँडाजोर–सिदे्र हुँदै कोल्टाडीसम्मको करिब १४ किलोमिटर सडक कालोपत्र गरेको छ। दशकौँदेखि निर्माण हुन नसकेको सडक हामी आएसँगै चुनावी प्रतिबद्धताअनुसार सम्पन्न भएको छ। हाल एक छिनमा सरर सर्दी पुग्न सकिन्छ”, उनले भने।

पालिकाका इन्जिनियर शम्भु केसीले करिब रु १७ करोडको लागतमा सडक स्तरोन्नति गरिएको बताए। यसले स्थानीयको जनजीवन सहज बन्नुका साथै अन्य गतिविधिमा पनि बढोत्तरी भएको उनको भनाइ छ।

स्थानीय विष्णुमाया भुजेलले सडक बनेसँगै वर्षौदेखिको समस्याबाट मुक्ति पाइएको बताए। “पहिला घण्टौँ लगाएर हिँडेर जानुपर्ने बाध्यता थियो, विरामी पर्दा, कतिपय अवस्थामा सर्पले टोकेका बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा बाटो मै ज्यान जान्थ्यो, अहिले त बाटोले धेरै सुविधा भएको छ। बाटो बनेसँगै कष्टपूर्ण यात्रा गरी राजमार्गसम्म पुग्नुपर्ने दुःख हटेको छ”, उनले भने।

यस सडकले विनयी त्रिवेणी वडा नं १, २, ३, ४ र ५ का बासिन्दालाई  सहजता भएको छ। मुख्यगरी वडा नं ३, ४ र ५ का बासिन्दालाई सहज रूपमा दुम्किबास आउन सुविधा पुगेको छ। सडक कालोपत्र भएसँगै सर्दी–दुम्किबासको यात्रा करिब २० मिनेटमै तय हुने गरेको छ।

Laxmi sunrise bank
kumari

गाउँपालिका अध्यक्ष गिरीले सडक विकासका अन्ग गतिविधिको पनि मुख्य आधार भएकाले पालिकाले प्राथमिकताका साथ निर्माणसम्पन्न गरेको बताए। “पालिकाको महत्वपूर्ण सङ्कल्प पूरा भएको र क्रमशः सबै वडालाई राजमार्ग र पालिकासँग सहज रूपमा सुविधायुक्त सडकले जोड्ने योजना छ। त्यसमा काम गरिरहेका छौँ”, उनको भनाइ छ।

गाउँपालिका उपाध्यक्ष भगवती वैदवारले दुम्किबास–सर्दी सडक कालोपत्र भएसँगै सर्दी क्षेत्रबाट राजमार्ग पुग्न सहजता थपेको र यहाँको कष्टकर जनजीवन सामान्य बन्दै गएको बताइन्।

यस कार्यले सडकमा पर्ने करिब तीन दर्जन  गाउँका स्थानीयलाई यात्रा र आफ्ना कृषिउपजको बजारीकरणमा पनि टेवा पुगेको उनले बताइन्। विनयी त्रिवेणीसँगै पूर्वी पाल्पाका बासिन्दालाई समेत यस सडकले सुविधा थपेको उपाध्यक्ष वैदवारको भनाइ छ।

प्रकाशित: Dec 19, 2024| 10:31 बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्