बुधबार, जेठ २०, २०८३

धवलागिरिमा 'दीर्घरोगीसँग अध्यक्ष' कार्यक्रम

 |  बुधबार, पुस ३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३, २०८१

म्याग्दी- धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित भएका छन्।

National life

नसर्ने रोग पहिचान र उनीहरूको उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले गत मङ्सिर २५ गते ताकमबाट सुरु गरेको कार्यक्रम मङ्गलबार मल्कवाङमा समापन गरिएको छ।

धवलागिरि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना खाती कार्कीका अनुसार सातवटा वडामा एक-एक दिनका दरले सञ्चालन गरिएको कार्यक्रममार्फत आठ सय १६ जना विभिन्न रोगका बिरामीले सेवा पाएका छन्।

ताकममा एक सय छ, मुदीमा एक सय २५, मुनामा एक सय १५, लुलाङमा एक सय ३५, मराङमा एक सय १५, मल्कवाङमा एक सय १५ र गुर्जामा एक सय ३५ जनाले सेवा पाएका हुन्।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती बनेको नसर्ने रोग न्यूनीकरणका साथै उपचार सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। “भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमा विशेषज्ञसहितको सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने “प्रयोगशालाका सामग्री, उपकरण, औषधि र चिकित्सकसहितको टोली गाउँगाउँमा पुगेर सेवा दिएका छौँ।”

Shivam cement

कार्यक्रममार्फत चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण, परामर्श, प्रयोगशाला र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा प्रदान गरिएको छ। मुटु, मिर्गौला, मधुमेह, उच्चरक्तचापलगायत रोगीहरूलाई पहिचान गर्ने र उनीहरूलाई निःशुल्क औषधि वितरण गरिएको छ।

बेनी अस्पतालका चिकित्सक डा रामु सापकोटा, समिर भण्डारी र रोजिना कटुवालसहितको टोलीले सेवा दिएका थिए। धवलागिरि गाउँपालिकामा सातवटा वडा छन्। सवै वडामा कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताए।

प्रकाशित: Dec 18, 2024| 09:31 बुधबार, पुस ३, २०८१
प्रतिक्रिया दिनुहोस्