जनकपुरधाम- प्रदेश २ सरकारले स्थायी कर्मचारी भर्ना गर्न बनेको लोकसेवा विधेयक स्वीकृत गरेको छ । विहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लोकसेवा विधेयक स्वीकृत गरेको हो।
बैठकले विधेयक स्वीकृत गर्दै प्रदेशसभामा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिएका छन्।
मन्त्री यादवले स्थायी कर्मचारी पदपूर्ति गर्न प्रक्रिया अगाडी बढाउन लोकसेवा विधेयक ल्याउन लागेको बताए । संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेकाले आफूहरुले लोकसेवासम्बन्धी विधेयक ल्याएको उनको भनाइ थियो।
संघीय सरकारले लोकसेवा विधेयक ल्याउनुपूर्व प्रदेश सरकारले विधेयक ल्याउन लागेको हो।मन्त्रिपरिषद बैठकले माघ १ गते मकर संक्रान्तिको अवसरमा सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ।
यसैगरी मधेश आन्दोलनक शहीदहरुके सम्झनामा माघ ५ गते मनाइने ‘बलिदानी’ दिवसको अवसरमा समेत सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको कानुनमन्त्री यादवले जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४