एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा बिहिबार राति शीर्षस्थानका दुई टोली भिड्दै छन् । जारी सिजन उपाधि दौडमा रहेको लिभरपुल र साबिकको विजेतासमेत रहेको म्यानचेस्टर सिटीबीच निकै नै रोमाञ्चक खेल हुने अनुमान गर्न सकिन्छ ।
सिटीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुदैछ । यस खेलमा स्पष्ट हार-जित भए उपाधि होड कसको पक्षमा जाने भन्ने अनुमान गर्न सकिनेछ । यो सिजन हालसम्म अपराजित रहेको लिभरपुल अहिले उच्च लयमा छ । यसपटक लिभरपुल २९ वर्षपछि प्रिमियर लिगको उपाधि जित्ने योजनामा रहेको छ ।
‘यो खेल हाम्रा लागि निकै महत्वपूर्ण रहेको छ । लिभरपुलभन्दा ७ अंकले पछि रहेकाले हाम्रा लागि यो अंक दूरी घटाउने मौका हो ।’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘हामी आफ्नो उत्कृष्ट फुटबल खेल्ने छौं । अन्तिम समयसम्म पनि हामी जितका लागि लड्ने छौं ।
यता लिभपुरलका प्रशिक्षक जोर्गेन क्लोपले पनि सिटीविरुद्धको खेल कठिन हुने बताएका छन् । ‘हामीलाई सिटीविरुद्ध उसकै घरमा खेल्न अवश्य पनि सहज हुनेछैन,’ क्लोपले भने, ‘तर, हामी यो खेल जितेर उपाधितर्फ अघि बढ्न चाहन्छौं ।’
आजको खेलमा सिटीको टोलीमा इल्के गुन्डोगन एक खेल गुमाएर मैदान फर्किंदैछन् । यस्तै केभिन डी ब्रुयान पनि टोलीमा पर्ने सम्भावना छ । तर, आज सिटीको टोलीमा प्रतिबन्धका कारण फाबियन डेल्फा रहने छैनन् ।
यता, लिभरपुलका लागि स्टार मिडफिल्डर जेम्स मिल्नर २ खेलपछि आज मैदान फर्किंदैछन् । यसअघि चोट बोकेका उनले २ खेल गुमाएका थिए । लिभरपुलका लागि आजको खेलमा अल्बेर्टो मोरिनो पनि उपलब्ध हुनेछन् भने जोर्डन हेन्र्डसन र बेवी केइटाको साथ पनि टोलीलाई हुनेछ ।
यस्तो छ विगतको तथ्यांक
लिगको साबिक विजेता म्यानचेस्टर सिटीले गएको सिजन लिभरपुललाई ५-० ले हराएको थियो । यी दुई टोली भिडेका पछिल्ला खेलमा ११ सिटीले ३ खेल बराबरी गर्दा ७ खेल हारेको छ ।
सिटी र लिभरपुल हालसम्म १ सय ६४ पटक भिडेका छन् । जसमा सिटीले ४३ खेलमा बाजी मार्दा ७९ खेल हारेको छ भने ४२ खेल भने बराबरीमा रोकिएका छन् । विगतको तथ्यांक हेर्दा सिटी लिभरपुलसँग कमजोर देखिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४