बुधबार, साउन १३, २०८३

भैरहवामा नौ महिनापछि अन्तर्राष्ट्रिय उडान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- अबको ९ महिनाभित्र अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मा जर्मनीको म्युनिख विमानस्थललाई दिइने भएको छ। म्युनिख विमानस्थलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मा हेर्नेगरी दुई देशीय सरकारबीचको सम्झौता अनुसार काम गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

अत्याधुनिक गोदामघर शिलान्यास

नेपाल सरकारको ९० करोड ३६ लाख ३४ हजार ६ सय ८३ रुपैयाँ लागतमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्वपूर्ण भागमध्येको एक कार्गो (गोदाम) भवन निर्माणको काम सुरु भएको छ।

उक्त भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी एसएस शर्मा-लुम्बिनी गजुरमुखी जेभीले ठेक्का पाएको छ। भवन तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी सुरु गरिएको विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले बताए।

८० हजार स्क्वायर फिट क्षेत्रफलमा बन्ने भवन नेपालमा अहिलेसम्म बनेका भन्दा अत्याधुनिक, व्यवस्थित र स्तरीय हुनेछ। भवनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले शिलान्यास गरेका छन्। सो अवसरमा मन्त्री अधिकारीले ठेकेदारलाई तोकिएकै समयमा निर्माण सक्न निर्देशन दिए। ‘तोकिएको समयभन्दा अगाडि सक्छौं भनेर उहाँहरुले भन्नुभएको छ, आयोजना र सरकारका पक्षबाट सबै सहयोग हुन्छ। तोकिएभन्दा ६ महिनापहिला नै सक्नुस्, हामीले बोनस उपलब्ध गराउँछौं, ठेकेदारलाई भनेका छौं ’, उनले भने।

उनले अब छिट्टै गौतम बुद्ध विमानस्थल नेपालको इतिहासमा ६० वर्षपछि अन्तर्राष्ट्रिय उडान भर्ने दोस्रो विमानस्थल हुने बताए । विमानस्थल सञ्चालनको महत्त्वपूर्णमध्ये ‘एयर सर्भिस एग्रिमेन्ट’ भइसकेको बताउँदै मन्त्री अधिकारीले भैरहवा केन्द्रविन्दु बनाएर अन्तर्राष्ट्रिय उडान भर्न चाहने देशहरुले इच्छा जाहोर गरिरहेको समेत बताए। 

मन्त्री अधिकारीका अनुसार गौतम बुद्ध विमानस्थललाई केन्द्र बनाएर जापान, चीन, श्रीलंका, भियतनाम, म्यानमार र कम्बोडिया गायतका देशले अन्तर्राष्ट्रिय उडानका लागि इच्छा जाहेर गरेका छन् । उनले २०१९ सेप्टेम्बरदेखि अन्तर्राष्ट्रिय उडान गर्ने गरी विमानस्थल निर्माणको काम भइरहेको बताउँदै सञ्चालनमा आएपछि भैरहवा क्षेत्र नेपालकै मुख्य पर्यटकीय गन्तव्य हुने बताए। 

निजी क्षेत्र उत्साहित 

अबको ९ महिनामै भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय जहाज उड्ने भएपछि निजी क्षेत्र अत्यन्तै उत्साहित भएको छ। गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान हुने देखेर विदेशीले समेत लगानी गर्न उत्सुकता देखाएको निजी क्षेत्रका अगुवाहरुले बताएका छन्।
 
भर्खरै भारत उत्तर प्रदेशका मुख्यमन्त्रीसँग नेपालमा लगानी विषय छलफलमा सहभागी भई आएका सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासहित गएको निजी क्षेत्रको टोलीसँंग उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले उत्तर प्रदेशका २४ करोड जनता लक्षित पर्यटन व्यपार गरेमा मात्रै नेपालले धेरै लाभ लिन सक्ने र लखनउदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई उडानका लागि पनि तयारी थालिने बताएका छन्।’ 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अन्तर्राष्ट्रिय फ्लाइटबाट सबैभन्दा बढी पर्यटन व्यवसायी उत्साहित देखिन्छन्। विमानस्थल सञ्चालनसँगै आउने अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गरेर यस क्षेत्रमा ट्राभल व्यवसायीले नयाँ योजनाका साथ काम अगाडि बढाइरहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट प्रदेश नं ५ का अध्यक्ष विष्णु शर्माले बताए। उनले भने, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर नयाँनयाँ एयरलाइन्सले उडान थप्न सुरु गरेका छन्। विमानस्थल सञ्चालनसँगै भैरहवामा पर्यटकको संख्या यत्ति धेरै हुन्छ कि त्यसले यहाँको पानपसलदेखि ठूलाठूला तारे होटल नाफामा जान्छन्।’

विमानस्थलमार्फत लुम्बिनी र ५ नं प्रदेशका पर्यटकीय स्थल घुम्न आउने पर्यटकलाई लक्षित गरेर अहिले भैरहवा लुम्बिनी क्षेत्रमा काठमाडौंमा वर्षौंदेखि तारे होटल सञ्चालन गरेकाहरूले पनि लगानी गर्न थालेका छन्। केही साताअघि मात्रै भैरहवास्थित होटल रेडिसनको व्यवस्थापन जिम्मेवारी अन्नपूर्ण होटलको एउटा ग्रुपले लिएको छ। जिल्लामा टाइगर प्यालेस, ड्रिम ल्यान्ड, आरम्भ, नान्स, लिटल बुद्ध, बुद्धमाया, होक्के, पवन प्यालेसजस्ता तारे होटल सञ्चालनमा  छन्।  



त्यस अतिरिक्त लुम्बिनीको खुनगाईमा स्थानीय अम्ब्रिक चौधरी समूहको लगानी र अस्ट्रेलियाको सबैभन्दा ठूलो होटल म्यानेजमेन्ट कम्पनी अर्गाइली होटल ग्रुपको व्यवस्थापनमा सेभेन स्टार होटल निर्माण भइरहेको छ। यसरी आगमी ९ महिनाभित्र अन्तर्राष्ट्रिय उडान हुने भएपछि होटल व्यवसायमा लगानीकर्ताको आकर्षण बढेको होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले बताए। उनले भने, ‘एयर कनेक्टिभिटी सीधै भैरहवा हुनुपर्दछ । त्यसो भएमा यहाँको पर्यटन व्यवसाय फस्टाउँछ । सरकारले नीति परिवर्तन गरेर विदेशका हरेक विमानस्थलसँग गौतम बुद्ध विमानस्थलको सीधा उडान भर्ने व्यवस्था मिलाएमा यो क्षेत्र मात्रै नभएर सिगो देशले लाभ उठाउने देखिन्छ।’

विमानस्थलको कन्सलट्यान्टको जिम्मा पाएको युसिन कोरियन कन्सलट्यान्ट र आयोजना क्यानले संयुक्त रूपमा मूल्यांकन गर्दा कार्यप्रगति उत्साहजनक भएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । उनले भने, ‘सन् २०१९ को जुनभित्र निर्माण कार्य सम्पन्न भई सेप्टेम्बरमा गौतम बुद्ध विमानस्थल भैरहवामा अन्तर्राष्ट्रिय उडान भर्ने निश्चित छ।’ सुरुमा क्याट वानको मापदण्डअनुसार निर्माण भइरहेको विमानस्थलको स्तर हाल अपग्रेड गरी क्याट टू बराबर पु¥याइएको अधिकारीले बताए।
 
क्याट टु मापदण्डमा कम भिजिबिलिटीमा पनि ठूला जहाज अवतरण र उडान गर्न सक्नेछन्। हालको घरेलु विमानस्थलमा १६ सय भिजिबिलिटीमा मात्रै उडान र अवतरण हुने गर्दछ। तर यो विमानस्थल निर्माण पूरा भएपछि चार सय भिजिबिलिटीमा पनि उडान र अवतरण हुनेछ।
 
विमानस्थलमा तीन किलोमिटर धावनमार्गमध्ये २२ सय मिटर कालोपत्रे गरिएको छ। टर्मिनल भवनको अराइभल पार्ट अन्तिम तला र डिपार्टचर पार्टको अन्तिम तलाको ढलाइ सम्पन्न भएको छ।  प्रशासकीय भवन सकिएको छ। कन्ट्रोल टावरको ८ तल्लामध्ये ७ तलासम्म काम सकिएको छ। पार्किङ स्थलको काम सम्पन्न भएको छ। नाला, ट्याक्सी वे का काम भइरहेका छन्।

 
‘भौतिक प्रगति ६० प्रतिशत भएको छ’, अधिकारीले भने। निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले पछिल्लो समय अत्यन्तै महत्त्व दिएर दिनरात काम गरिरहेको छ। विगतमा चिनियाँ कम्पनी र नेपाली स्थानीय ठेकेदार कम्पनीबीच विवाद हुँदा विमानस्थल निर्माण कार्यले तीव्रता लिन सकेको थिएन तर चिनियाँ पक्षले केही महिनापहिले म्यानेजर परिवर्तन गरेसँगै रातदिन काम हुन थाल्यो।
 
चिनियाँ सरकारले कम्पनी म्यानेजरका रूपमा सू वैगलाई पठाएको छ। कुल ६ अर्ब २२ करोड ५१ लाख ३० हजार २ सय २७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी चिनियाँ सरकारी कम्पनी नर्थ वेस्टले ठेक्का पाएको थियो। 

यद्यपी हाल विमानस्थलको लागत भेरियसन बढेको छ। कुल लागतको ९.६२ प्रतिशत लागत भेरियसन बढेको आयोजनाले जनाएको छ। विगतमा क्याट वानको मापदण्डअनुसार गर्नेगरी ठेक्का सम्झौता भएकोमा हाल क्याट टु अनुसार गर्नेगरी काम अगाडि बढाइएकाले लागत थप गर्नुपरेको आयोजनाका अधिकारी बताउँछन्। आयोजनाले नयाँ टर्मिनल बिल्डिङ र अन्य थप भौतिक पूर्वाधारका लागि परामर्शदातासमेत नियुक्त गर्ने प्रक्रियामा छ। 

त्रिभुवन विमानस्थलको पहिलो वैकल्पिक विमानस्थल

गौतम बुद्ध विमानस्थललाई धेरैले भैरहवा एयरपोर्ट भनेर चिन्ने गर्दछन्। २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेपछि एकाएक यो विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा परिचित हुन थालेको हो। 


मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको धावनमार्ग र क्षमताले धान्न नसकेपछि सरकारले तत्काल वैकल्पिक विमानस्थलका रुपमा भैरहवास्थित गौतम बुद्ध विमानस्थललाई स्तोरन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन सुरु गरेको हो। सन् २०१४ को डिसेम्बर ३१ तरिखमा कार्यदेश पाई त्यसैअनुरुप विमानस्थलको स्तरोन्नतिका लागि सन् २०१७ को जनु २ तारिख अर्थात् २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी टेन्डर आह्वान गरिएको थियो। 

मल्टिनेसनल रुपमा आह्वान गरिएको बोलपत्रअनुसार  ५ चिनियाँ र २ स्पेनिस ठेकेदारले बोलपत्र भरेको भए तापनि चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्सट्रक्सन ग्रुपले टेन्डर पारी गत ०७१ को माघ १ देखि निर्माण सुरु गरेको हो। 

सबैभन्दा ठूलो क्षेत्रफल 

२०२३ सालदेखि नियमित उडान भर्दै आएको भैरहवास्थित गौतम बुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ। ०६१ सालअघिसम्म ८४ बिघा तीन कठ्ठा रहेकोमा ०६३ सालमा दुई सय १३ बिघा चार कठ्ठा १५.७५ धुर थप भएको थियो। हाल थप पाँच सय बिघाको मुआब्जा वितरण भइरहेको छ। 



निर्माणाधीन गौतम बुद्ध विमानस्थलको जग्गाको स्वामित्व ७ सय ८७ बिघा ७ कठ्ठा १५.७५ धुर हुनेछ । अहिलेसम्म पोखरामा ३ हजार ७ सय रोपनी, काठमाडौंमा ७ हजार रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन भइरहँदा भैरहवामा १० हजार रोपनीमा विमानस्थलमा बन्दैछ । यति धेरै क्षेत्रफलमा बनेको विमानस्थल आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान भर्ने क्षमता राख्ने आयोजनाको दाबी छ। 

अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरण (आइकाओ) को कोड फोर ई का अनुसार तीन हजार मिटर धावनमार्ग भएको विमानस्थलमा बोइङ ७७७ सम्मका जहाज अर्थात्  चौडाइ ५२ मिटरदेखि ६४.९९ मिटरसम्म रहेका जहाजले उडान र अवतरण गर्न सक्छन्। 

आयोजनाले दाबी गरेअनुसार काम भएमा २०१९ को सेप्टेम्बरमा सीधै अन्तर्राष्ट्रिय विमानको उडान र अवतरण हुनेछ । भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज आउन थालेपछि यस क्षेत्रको मुहार फेरिनेछ। यहाँका पर्यटन क्षेत्र र पर्यटन व्यवसायी मात्रै नभएर पान व्यापारीदेखि ठूला पर्यटन व्यवसायी प्रत्यक्ष लाभान्वित हुने नेपाल ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) प्रदेश महासचिव चन्द्रबहादुर थापाले बताए।  

विस्थापितका लागि नमुना बस्ती 

विमानस्थलका लागि जग्गा अधिग्रहण गर्दा विस्थापित हुनेका लागि नमुना बस्तीको योजना अगाडि सारिएको छ। चार सय ७० घरपरिवारलाई नयाँ बस्तीमा राख्न उक्त योजना अगाडि सारिएको हो । नयाँ बस्तीको बीचमा पोखरी छ। आसपास खुला स्थान र व्यापारिक प्रयोजनका लागि सटर छन्। त्यसपछि मात्र वरिपरिबाट बस्तीको विकास गरिएको छ। बस्तीमा रहेका भवन एकै प्रकृतिका छन्। 


२६ बिघा क्षेत्रफलमा बस्ती विकास गरिने विमानस्थल आयोजनाले जनाएको छ। सात बिघा क्षेत्रफलमा पोखरी फैलिएको छ। पोखरी आसपास खुला मैदान छ।

बस्तीअगाडि निर्माण गरिएका व्यापारिक भवनबाट विस्थापित घरपरिवारका कम्तीमा एक जनाले रोजगारी पाउनेछन्। कम्तीमा १० धुर क्षेफलमा घर बन्नेछन्। विमास्थल विस्तारका क्रममा अहिलेसम्म अधिग्रहण गरिएको घरजग्गाका लागि १३ अर्ब रकम बाँडिसकिएको छ भने अझै साढे ९ अर्ब बाँड्न बाँकी छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।