काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीकर्ताले नेपालमा ५० करोडसम्म लगानी गर्न विदेशबाटै आवेदन दिन सक्ने बताएका छन् ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसंघको आयोजनामा नयाँदिल्लीमा सोमबारदेखि सुरु साझेदारी शिखर सम्मेलनमा मन्त्री भण्डारीले विदेशी लगानीकर्ताले अनलाइन प्रणालीमार्फत दिएको आवेदनले स्वतः पूर्वस्वीकृति प्राप्त गर्ने जानकारी दिए ।
मन्त्री भण्डारीले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड पाँच करोडबाट घटाएर दुई करोडमा झारिएको र सूचना प्रविधि क्षेत्रमा लगानीको थ्रेसहोल्ड नै नभएको बताए । उनले भने, ‘हामीले नेपालमा व्यापार गर्न नीतिगत र कानुनी पक्षमा सुधार गर्न ध्यान केन्द्रित गरेका छौं । लगानीकर्तालाई दर्ता र सुविधा उपलब्ध गराउन १४ एजेन्सीलाई एउटै छानामुनि ल्याएर ‘वन स्टप सर्भिस सेन्टर’ स्थापना गरेका छौं ।’
नेपालमा अहिले लगानी गरेका विदेशी लगानीकर्ताले आफ्नो लगानीको नाफा र पुँजीको ग्यारेन्टीसहित उच्च दरमा प्रतिफल प्राप्त गरिरहेको जानकारी पनि उनले दिए । ‘बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय व्यापार सम्झौतामा हाम्रा प्रतिबद्धताले नेपाललाई अन्तर्राष्ट्रिय व्यापारका लागि सबैभन्दा उदार र खुला बजार बनाएको छ,’ उनले भने । नेपालमा नवप्रवर्तन, उद्यमशिलता र लगानी प्रवद्र्धन गर्न सक्षम व्यापारिक वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले थपे, ‘नियामक ढाँचालाई थप सुधार गर्न हाम्रा साझेदारहरूबाट प्रतिक्रिया र सुझावका लागि हामी खुला छौं ।’
मन्त्री भण्डारीले शिखर सम्मेलनमा भएको छलफल र विचारविमर्शले दिगो विकास, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र समृद्धिलाई अगाडि बढाउन अर्थपूर्ण साझेदारीका लागि मार्ग प्रशस्त गर्नेमा विश्वास व्यक्त गरे । उनले भने, ‘आर्थिक समृद्धिका हाम्रा साझा लक्ष्यलाई साकार पार्न पुँजी, नयाँ प्रविधि र विशेषज्ञता ल्याई हामीसँग साझेदार हुन सम्भावित क्षेत्रमा अन्वेषण गर्न म विश्वभरका व्यवसाय र लगानीकर्तालाई आमन्त्रित गर्छु ।’ समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय नारासहित नेपालले पर्यटन, जलविद्युत, कृषि, औषधि र सुगन्धित वनस्पति, सूचना प्रविधि तथा उत्पादन जस्ता क्षेत्रमा लगानीका प्रशस्त अवसर प्रदान गरेको मन्त्री भण्डारीले बताए । उनले भने, ‘अहिले हामी द्विपक्षीय र त्रिपक्षीय व्यवस्थाका साथ हाम्रा छिमेकी मुलुक भारत र बंगलादेशमा विद्युत निर्यात गर्ने अवस्थामा छौं ।’
मन्त्री भण्डारीले नेपालले भारतसँगको आफ्नो बलियो र ऐतिहासिक सम्बन्धलाई महत्व दिएको उल्लेख गर्दै दुई देशको साझा इतिहास, सांस्कृतिक सम्बन्ध र आर्थिक अन्तर–निर्भरतामा यो सम्बन्धको जरा गहिरो रुपमा गाडिएको बताए । नेपालमा पर्यटन र प्रत्यक्ष वैदेशिक लगानीका हिसाबले भारत सबैभन्दा ठूलो स्रोत देश रहेको उनले उल्लेख गरे ।