मंगलबार, पुस १, २०८२

दाङमा बढ्दै तोरीको उत्पादन

 |  सोमबार, मंसिर १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १०, २०८१

दाङ- शान्तिनगर गाउँपालिका-४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आएका छन्। उनले विगत लामो समयदेखि तोरीखेती गर्दै आएका हुन्। तेल किनेर खाँदा महँगो पर्ने हुँदा आफैले उत्पादन गर्दै आएको उनी बताउँछन्।

National life

'बाहिर किनेको तेल स्वास्थ्यका लागि पनि त्यति राम्रो नहुने र तोरी नै उत्पादन गर्दा आफ्नो लागि र बिक्री गर्नसमेत मिल्ने भएकाले यसको खेती गर्दै आएको छु', उनले भने। घरमा आवश्यक परेको राख्ने र अरू सबै उचित मूल्य पाएको समयमा बेच्ने गर्ने गरेको उनी सुनाउँछन्। उनले १० कट्ठा जग्गामा लगाएको तोरीबाट तीन क्विन्टल बढी उत्पादन हुने गरेको बताए। तोरी घरका लागि राखेर पनि अरू बेचेर आम्दानी गर्दै आएको उनले बताए।

घोराही उपमहानगरपालिका-१० का किसान रेशम डाँगी पनि आफूलाई खानका लागि तोरी आफै उत्पादन गर्दै आएको बताउँछन्। राम्रो तोरीको तेल नै हुने भएको तोरीको खेती गर्दै आएको उनले बताए। किनेर खानुभन्दा समयमा मेहनत गरियो भने वर्षभरि खान पुग्ने उनको अनुभव छ। 

जिल्लामा तोरीखेती गर्ने किसानको सङ्ख्या बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार गत वर्ष दाङमा १६ हजार चारसय १० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो। त्यसबाट १६ हजार नौ सय ४३ दशमलव तीन मेट्रिक टन तोरी उत्पादन भएको उनी बताउँछन्।

गत वर्षको तुलनामा यस वर्ष अझ उत्पादन बढ्ने अनुमान गरिएको उनको भनाइ छ। मौसम अनुकूल भएमा बढ्ने उनले बताए। उनका अनुसार यस वर्ष तोरीखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा पनि वृद्धि हुने उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

यसवर्ष १६ हजार चार सय ८७ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ भने त्यसबाट १७ हजार आठ सय ६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी लामिछानेको भनाइ छ। यस वर्ष गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको छ।

तोरीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ। तोरीखेतीलाई जंगली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लामा सबैभन्दा बढी शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या धेरै रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ।

कृषि ज्ञान केन्द्र दाङमार्फत विशेष सघन बाली उत्पादनअन्तर्गत यस वर्ष ९० हेक्टर क्षेत्रफलका लागि नौ क्विन्टल उन्नत तोरीको बीउ किसानलाई वितरण गरिएको सूचना अधिकारी लामिछाने बताउँछन्। उक्त बीउ घोराही-७ घुस्रा र शान्तिनगर गाउँपालिका-१ र २ का किसानलाई वितरण गरिएको थियो। रासस

प्रकाशित: Nov 25, 2024| 20:31 सोमबार, मंसिर १०, २०८१
प्रतिक्रिया दिनुहोस्