म्याग्दी- यस जिल्लामा करिब तीन हजार उद्योग सञ्चालनमा रहेका पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ।
दशौँ उद्योग दिवस-२०८१ का अवसरमा आज पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख पोषानाथ शर्माले तीन हजार तीनसय ८४ उद्योग दर्ता भएकामा दुई हजार नौसय १९ वटा सञ्चालनमा रहेका जानकारी गराए।
'पछिल्लो केही वर्षयता उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ', उनले भने, 'वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रिया पूरा गर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनुभन्दा खारेज भएका हुन्।'
आर्थिक वर्ष २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ वटा खारेज भएका थिए। कार्यालयका अनुसार २०८०/८१ मा ३१ वटा उद्योग र ५३ वटा व्यावसायिक फर्म खारेज भएका हुन्। आर्थिक वर्ष २०७९/८० मा १४ वटा उद्योग र २९ वटा व्यावसायिक फर्म खारेज भएका थिए।
आर्थिक वर्ष २०७७/७८ मा सातसय ६२, २०७८/७९ मा पाँचसय ७० र २०७९/८० मा तीनसय १७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए। गत वर्ष तीनसय २२ उद्योग र तीनसय ९४ व्यावसायिक फर्मले नवीकरण गरेका थिए। गत वर्ष दर्ता भएका उद्योगमा तीन सय जनालाई रोजगारी सिर्जना भएको कार्यालय प्रमुख शर्माले बताए।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुवीन श्रेष्ठले कोरोना महामारीपछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायी विदेश पलायन हुने र अन्य पेसा रोज्नेक्रम बढेको बताए। उद्योग वाणिज्य संघको चुनावी प्रयोजनका लागि दर्ता भएका व्यावसायिक फर्महरु पनि पछिल्लो समय स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्द गर्न थालेका हुन्।
यसैगरी दशौँ उद्योग दिवस-२०८१ का अवसरमा पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीले तीन जना उद्यमीहरुलाई सम्मान गरेको छ। रघुगंगा गाउँपालिका-१ बेगकी मेनुका सिलाइकटाइ तथा प्रशिक्षण केन्द्रका मेककुमारी पुन, बेनी नगरपालिका-८ गणेशटोलको वेदना सु-सेन्टरका सुकलाल किसान र बेनी नगरपालिका-७ कुरिलाखर्कको शर्मा कृषि तथा पशपक्षी फार्मका सञ्चालक कृष्णप्रसाद शर्मालाई सम्मान गरिएको हो।
गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन), जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललगायतले उनीहरुलाई दोसल्लो ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।
प्रदेशसभा सदस्य जुग्जालीले म्याग्दीमा आवश्यकता र सम्भावनामा आधारित भएर सीपमूलक तालिम सञ्चालन गर्न आवश्यक भएको बताए। गण्डकी प्रदेशसभाबाट स्थानीय मदिरासम्बन्धी कानून निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराउँदै म्याग्दीमा पनि यस किसिमका उद्यम स्थापना गरी मदिरा आयात घटाउन आवश्यक देखिएको विचार व्यक्त गरे। रासस