गैडाको खागसहित पक्राउ
धनगढी : कैलाली प्रहरीले गैडाको खागसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाजुरा बूढीगंगा नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ बस्ने ५१ वर्षीय चक्र भण्डारी छन्।
मंगलबार बेलुकी ५ बजे धनगढी उपमहानगरपालिका–६ जाई स्थित आफन्त ८२ वर्षीय गगनसिंह रौलेको घरमा लुकाईछिपाई राखेको अवस्थामा खागसहित भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरि ओलीले विशेष सुराकीका आधारमा भण्डारीलाई खागसहित पक्राउ गरेको जानकारी दिए । प्रारम्भिक अनुसन्धानअनुसार भण्डारीले उक्त खाग छिमेकी देश भारतबाट ल्याएको प्रहरीसमक्ष बयान दिएका छन्। ‘गैंडाको खाग भारतबाट ल्याएको हो भन्ने कुरा खुलेको छ । बाँकी अनुसन्धानकै क्रममा छौं’ओलीले भने, ‘भण्डारी एक्लैको मात्र संलग्नता नभएर यसमा अरु पनि संलग्न रहेको आशंका छ ।’ खुला सिमानाका कारण प्रतिबन्धित वन्यजन्तुका बहुमूल्य वस्तु ओसारपसारका लागि कैलाली ट्रान्जिट प्वाइन्ट भइरहेको आशंका प्रहरीको छ ।
खागको तौल एक किलो दुई सय ९० ग्राम छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४