आइतबार, मंसिर २८, २०८२

पोखरेबगर-चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती

 |  बिहीबार, मंसिर ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ६, २०८१

म्याग्दी- चार महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर-चित्रे सडक अझै सञ्चालन भएको छैन। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार-खिवाङ-शिख-चित्रे सडक अन्तर्गत अन्नपूर्ण-५ घोप्टेखर्कमा गत असारमा पहिराले भत्काएको सडक मर्मत नहुँदा स्थानीयवासी र पर्यटकलाई समस्या भएको छ।

National life

स्थानीयवासीले पहिरोले साँघुरिएको सडकको डिलतर्फ काठ राखेर जिपमात्र छिर्ने बनाएका छन्। काठको फल्याक र थाम भाचिएर दुर्घटना हुने उच्च जोखिम छ।

सडक अवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयवासीलाई आवत जावतका साथै होटल व्यवसायीहरुलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताए।

घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकल बाहेक जिप, बस, ट्रक, ट्याक्टर वारपार गर्न सकेका छैनन्। पोखरेबगर-चित्रे-घोडेपानी सडकअन्तर्गत लुलीया र हल्लेखर्कको घुम्तिमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुन सकेको छैन। वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सोभन्दा बढी आन्तरिक पर्यटक आउँछन्।

सडकको समस्याका कारण सवारी साधनमार्फत यसपालीको शरदयाममा घोडेपानीमा अपेक्षाकृत संख्यामा आन्तरिक पर्यटक भित्रन नसकेका घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताइन्।

Laxmi sunrise bank
kumari

पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सुर्योदय, हिमशृङखला, पहाडी भूगोल, गुराँसे जंगल, वन्यजन्तु, पक्षी, मगर संस्कृतिलगायत आकर्षण रहेको छ।

१८ किलोमिटर पाँचसय ४० मिटर दुरीको पोखरेबगर-चित्रे सडक मार्ग खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत करिब ३० करोड रूपैयाँको लागतमा  ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो।

अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पुर्‍याएको सडक मर्मतका लागि आयोजना कार्यालयले बेवास्ता गरेपछि गाउँपालिकालेनै मर्मत गर्न लागेको बताए। रासस

प्रकाशित: Nov 21, 2024| 19:01 बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्