काठमाडौं- प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युब च्यानललाई मंगलबार कारबाही गरेको छ।
तीमध्ये दर्ता, सूचीकरणबिना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचार समेत गरेको छ। सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युब च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामग्री तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ।
काउन्सिलले पछिल्लो समयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको बताएको छ।
केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज र अफवाहपूर्ण सामाग्री प्रसारित भएपछि त्यस्ता माध्यमलाई कारवाही गरेको काउन्सिलले जनाएको हो। काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्धारा जारी विज्ञप्तिमा आधिकारिक एवं विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने भन्दै भ्रम फैलाउने सूचना सामग्री नफैलाउन सम्बद्ध सबैलाई आग्रह समेत गरिएको छ।
अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापी होइन, प्रेस काउन्सिलले विज्ञप्तिमार्फत भनेको छ। प्रेस विज्ञप्तिमा कारवाहीमा परेका माध्यमहरुको विवरण समेत राखिएको छ।