मंगलबार, जेठ १९, २०८३

रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुल क्षति

 |  मंगलबार, मंसिर ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ४, २०८१

रामेछाप- गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछाप र सिन्धुली जिल्लालाई जोड्ने नौ वटा पुलमा क्षति पुगेको छ। सुनकोसी नदीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने ती पुल क्षति हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको हो।

National life

सुनकोसीमा आएको बाढीले खुर्कोटको पक्की र झोलुंगे पुल, खैरेनीघाटको पक्की पुल, सित्खा, बेलघारी, हर्दिनिघाट, बिर्ता, पुछिघाट र मन्सुली घाटको झोलुंगे पुल पूर्ण रुपमा क्षति पुर्‍याएको जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका संयोजक राजुप्रसाद पौडेलले बताए।

बाढीले बगाएको खुर्कोट र खैरेनी घाटको पक्की पुलमध्ये खुर्कोटमा सेनाको सक्रियतामा बेलिब्रीज निर्माण गरी सञ्चालनमा आइसकेको छ भने खैरेनीघाटको पुल भने अझै निर्माण सुरु हुन नसकेको उनको भनाइ छ। बाढीले विभिन्न ठाउँको झोलुंगे पुल बगाएपछि समस्यामा रहेका स्थानीयको सहजताका लागि खाँडादेवी गाउँपालिकाले पालिकाभित्र ‘र्‍याफ्टिङ’ व्यवस्था गरेको छ।

खाँडादेवी गाउँपालिका-१ राकाथुमस्थित दुई वटा झोलुंगे पुलमा बाढीले क्षति गरेको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए। पुल बाढीले बगाएपछि तत्कालका लागि र्‍याफ्टिङमार्फत कोसी वारपार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

पुल बगाएपछि शिक्षा, स्वास्थ्य उपचारलगायतमा सहज सेवा लिन स्थानीयलाई समस्या भएपछि स्थानीयको मागअनुसार अस्थायी रुपमा र्‍याफ्टिङ सञ्चालन गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए।

Shivam cement

सुनकोसीमा आएको बाढीले झोलुंगे तथा पक्की पुलसमेत बगाएपछि गाउँपालिकाका विभिन्न स्थानका नागरिक समस्यामा परेका छन्। सोही पालिका-४ स्थित पुछिघाटको पुलमा बाढीले क्षति पुर्‍याएपछि खाल्टेमा अध्ययन गर्न जानेआउने विद्यार्थी जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।

खाँडादेवी गाउँपालिकाको कोथबे, पुछिघाट लुवु, डप्खालगायत स्थानका माझी समुदायले कोसी वारपार गर्न  र्‍याफ्टिङ बोर्डको माग गरेका छन्। गाउँपालिकाले कोथबे र लुवुघाटका माझी समुदायलाई कोसी वारपार गर्ने सुविधाका लागि र्‍याफ्टिङ बोर्ड उपलब्ध गराइएको अध्यक्ष श्रेष्ठले बताए।

उनले तालिम प्राप्त र्‍याफ्टिङ चालको अनुमति लिएका चालकबाट ‘लाइफज्याकेट’ प्रयोग गरी स्थानीयलाई आवतजावतको सुविधा दिने व्यवस्था गरिएको जानकारी दिए। र्‍याफ्टिङले स्थानीयलाई स्वास्थ्योपचार सेवा लिन तथा कृषिकर्मका लागि कोसी वारपार गर्न केही भए पनि सहज भएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठको भनाइ छ। रासस

प्रकाशित: Nov 19, 2024| 16:17 मंगलबार, मंसिर ४, २०८१
प्रतिक्रिया दिनुहोस्